काठमाडौं– पछिल्लो ८ वर्षमा १९ अर्ब रुपैयाँभन्दा बढीको बैंकिङ ठगी भएको छ। ठगीमा संलग्न एक सय ५५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अझै एक सयभन्दा धेरै फरार छन्।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा हालसम्म १९ अर्ब ६९ करोड ७४ लाख ९९ हजार २ सय ७७ रुपैयाँ ठगीको अनुसन्धान गरेको छ। सिआइबीले आर्थिक वर्ष २०६७/०६८ देखि हालसम्म बैंकिङ कसुर सम्बन्धी ५० वटा मुद्दा दायर गरेको छ।
ठगीमा संलग्न १ सय ५५ जना पक्राउ गरिएको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा बैंकका सञ्चालक, कर्मचारी तथा ऋणीदेखि धितो मूल्यांकनकर्तासम्म छन्।
पछिल्लो ८ वर्षको अवधिमा मुद्दाको संख्यामा खासै थपघट नदेखिए पनि बैंकिङ अपराधको प्रकृतिमा भने परिर्वतन भएको सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए।
‘सुरुवाती समयमा धितो राखेर पैसा नबुझाउने वा नक्कली धितो राखेर ऋण लिगेर नबुझाएका केसहरु धेरै आउने गरेका थिए', उनले भने, 'पछिल्लो समय चाहिँ कर्मचारीको मिलेमतोमा करोडौं रकम हिनामिनाका केसहरु धेरै पर्ने गरेका छन्।’
यस अवधिमा मुद्दाको संख्या नबढे पनि पक्राउ पर्नेको संख्यामा भने वृद्धि देखिएको छ। आर्थिक वर्ष २०६७/०६८ मा बैंकिङ कसुरमा ४ मुद्दामा ६ जना पक्राउ परेका थिए। यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा ७ मुद्दाबाट २३ जना पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दामा सयौं व्यक्ति फरार छन्। जसमा तत्कालीन किष्ट बैंकका पूर्वसिइओ कमल ज्ञवाली समेत छन्।
हालसम्म परेको मुद्दा, पक्राउ संख्या र मागदाबी रकम

७ महिनामा ६ मुद्दा, २५ जना पक्राउ
बैंकिङ कसुर अभियोगमा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ६ वटा मुद्दा परेको छ। सो मुद्दामा यस अवधिमा २५ जना पक्राउ परेका सिआइबीले जनाएको छ।
७ महिनाको अवधिमा बैंकिङ कसुर मुद्दाबाट हालसम्म २१ करोड ६२ लाख ९७ हजार १ सय ५६ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ।
गत आर्थिक वर्ष २०७३/०७४ मा बैंकिङ कसुरमा ७ वटा मुद्दा परेको थियो। जसका आधारमा सिआइबीले २३ जनालाई पक्राउ गरेको थियो। जसबाट ८ करोड ६९ लाख ३५ हजार ४ सय ८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ। ठगी भएको रकमलाई नै प्रहरीले मागदाबी गरी मुद्दा चलाउने गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।