काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गरेका छन्। निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाले राजीनामाको तयारी गरेका हुन्।
निर्वाचन आयोगले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको सम्पूर्ण परिणाम बुझाउने तय गरेको छ।
देउवा निकट स्रोतका अनुसार उनले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिनेछन्। संविधान कार्यान्वयनको महत्वपूर्ण चरण मानिएको तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने मनसाय बनाएका हुन्।
देउवाका स्वकीय सचिव केशवराज जोशीले प्रधानमन्त्रीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको बताए। उनले नयाँ प्रधानमन्त्री नियुक्त भइसकेपछि मात्र प्रधानमन्त्री देउवाले बालुवाटार छाड्ने उल्लेख गरे।
‘नयाँ संविधान अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने कि दुई वा दुईभन्दा बढी बहुमत प्राप्त दलको नेतालाई सिधै नियुक्त गर्ने भन्ने अन्यौल छ,’ उनले भने, ‘नयाँ प्रधानमन्त्रीको शपथसँगै वर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्नु हुनेछ।’
प्रधानमन्त्री देउवाले सरकार छाड्नु अघि आजै दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोही बैठकबाट देउवाले सरकारबाट दिने राजीनामा र राष्ट्रको नाममा गरिने सम्बोधनको निर्णय गर्ने उनका सहयोगीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।