नयाँदिल्ली- ओमार लुलुको रिलिज हुने तयारीमा रहेको मलयालम चलचित्र ‘ओरु अदार लभ’ यतीबेला चर्चामा छ। चलचित्रमा समावेश भएको गीत ‘मनिक्या मलाराया पुभी’ मा रहेको एक दृश्य सामाजिक संजालभरी भाइरल बनेको हो।
सो दृश्यमा चलचित्रकी नायीका प्रिया प्रकाश वारियर र नायक रोशन अब्दुल रहुफले आँखाको इशारामै रोमान्स गरेको देख्न सकिन्छ। कक्षामा रहेका बेला उनीहरुले इशाराले नै आफ्ना कुराहरु एक अर्कामा व्यक्त गरेका छन्।
गत फेबु्रअरी ९ मा रिलीज भएको सो गीतलाई हालसम्म युट्युबमा करिब १ करोड ४७ लाखले हेरिसकेका छन्। उक्त गीत नेपालको ट्रेन्डिङमा अहिले आठौं नम्बरमा छ।
सो गीत भाइरल भएपछि चलचित्र निर्माण युनिटले ट्रिजर सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक भएको ट्रिजरमा पनि दुबै नायक नायीकाको प्रेमील वातावरणलाई नै देखाइएको छ।
नायीका प्रियाले आफ्नो चुम्बनलाई गोली हानेको स्वरुपमा नायक रोशनतिर प्रहार गरेकी छन्। ‘चुम्बनवाला गोली’ प्रहारपछि रोशनले गोली लागेर ढलेको अभिनय गरेका छन्।
ट्रिजरलाई हालसम्म युट्युबमा २८ लाख ४६ हजारभन्दा बढीले हेरिसकेका छन्।
युवाहरुका लागि लक्षित गरी बनाइएको सो चलचित्र सांगीतिक प्रेम कहानीमा आधारित छ। चलचित्रमा ८ वटा गीत समावेश गरिएको छ।
११/१२ कक्षामा पढिरहेका स्कुले विद्याथाीहरुको बसाइ, प्रेम तथा साथीत्वमा आउने उतारचढावलाई फिल्ममा उतारिएको छ। चलचित्रमा ५ नायक तथा ४ नायीकाको अभिनय देख्न सकिन्छ।
चलचित्रका निर्देशक ओमार लुलुले हालसम्म 'हेप्पी वेडिङ' (२०१६) तथा 'चुन्क्ज' (२०१७) चलचित्र निर्देशन गरिसकेका छन्।
मलयालम भाषामा ‘ओरु अदार लभ’ भन्नाले असाधारण माया भन्ने बुझिन्छ। चलचित्र आगामि इदलाई लक्षित गरी जुनमा रिलिज गरिदैँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।