नयाँ दिल्ली (एजेन्सी)– युट्युबमा उनको पहिचान चाँदनीको नामबाट हुने गर्छ। भोजपुरी एल्बम सार्वजनिक हुने वित्तिकै भाइरल भइहाल्छ। ‘डोली मे गोली मारदेब’, ‘चोए चोए’ पछि चाँदनी सिंहको नयाँ एल्बम ‘खोद देव ढोढी पिचकारी से’ पनि लोकप्रिय भइरहेको छ।
उत्तर प्रदेशको जौनपुरमा बसोबास गर्ने चाँदनी यतिबेला निर्माता निर्देशक अरविन्द चौबेको फिल्म ‘मे नागिन तु सपेरा’ मा अभिनय गर्दैछिन्। उनको अपोजिट कलाकार हुन् अरविन्द अकेला कल्लू। फिल्मको रिलिजलाई लिएर चाँदनी निकै उत्साही छिन्। उनी दिव्या भारतीलाई आफ्नो प्रेरणा मान्छिन्।
पटनामा एकपल्ट साथीहरूसँग जाँदा उनले त्यहाँ सुटिङ हेर्ने मौका पाएकी थिइन्। त्यतिबेला आदिशक्ति म्युजिक कम्पनीले एउटा एल्बमको सुटिङ गरिरहेको थियो। सुटिङ हेर्न बाटोमा उभिएकी चाँदनीलाई आदिशक्तिका निर्देशक मनोजले अभिनयको अफर गरेका थिए। उनले आफूले उत्तर दिनुअघि नै साथीहरूले हुन्छ भनेका कारण एल्बममा काम गरेको बताइन्।
‘मेरो पहिलो एल्बम खेसारीलाल यादवसँग थियो। ‘डोली मे गोली मार देब’ हिट भएपछि ‘चोए चोए’ पनि हिट भयो। यसपछि फिल्मको अफर आयो’, उनले भनिन्। उनले अभिनय गरेको ‘धनिया आवतानी’ गीतलाई एक दिनमा १० लाख व्यक्तिले हेरेका थिए। उनले एल्बम गर्नुअघि घरपरिवारले विरोध गरेको बताइन्। तर, आमाले आफूलाई प्रोत्साहन गर्ने गरेको खुलासा गरिन्। उनले पहिलो एल्बममा काम गर्दा आफ्नो तौल ७५ केजी भएको तर तौल घटाउन खुब मिहिनेत गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।