काठमाडौं- नेपाल चलचित्र विकास बोर्डले फागुन ७ देखि लागू हुनेगरी बक्स अफिस प्रणाली इ–टिकेटिङ सुरु गरिएको छ। बोर्डले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीपकुमार उदय, आकाश अधिकारीको उपस्थिति थियो।
बोर्ड मातहत रहने बक्स अफिस प्रणालीको सञ्चालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहबले गर्नेछ। बक्स अफिस सञ्चालनका लागि सिनेमा हलहरुमा सुबिसुले नि:शुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा सम्पन्न भएकोमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले खुसी व्यक्त गरे।
चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न चाँडै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने पनि मन्त्री बस्नेतले बताएका छन्।
चलचित्र विकास बोर्डमा नियुक्त भएको तीन महिना नबित्दै लामो समयदेखि चलचित्रकर्मीहरुले उठाउँदै आएको बक्स अफिसको मुद्दालाई निकिता पौडेलले पूर्णता दिएकी हुन्। उपत्यकाभित्रका मल्टिप्लेक्समा फागुनमै इ–टिकेटिङ सिस्टम लागू हुने र बैशाख १ देखि मल्टिप्लेक्स बाहेकका सबै हलमा लागू गरिने अध्यक्ष पौडेलले जानकारी दिइन्। साउन १ देखि उपत्यका बाहिरका हलहरुमा यो सिस्टम जडान गरिने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।