नयाँ दिल्ली (एजेन्सी)– मल्लिका शेरावतको विषयलाई लिएर अहिले बजार तातेको छ। केही दिनअघि मात्र उनको फ्रेन्च ‘ब्वाइफ्रेन्ड’ टाट पल्टिएको खबर बाहिरिएको थियो। यद्दपि उनले यसको खण्डन गरिसकेकी छिन्।
अहिले मल्लिका भारतमा बच्चाहरूको मानव तस्करी र यौन शोषण गर्नेविरूद्ध लडिरहेको एउटा गैरसरकारी संस्था ‘फ्रि अ गर्ल इन्डिया’ सँग सहकार्य गरिरहेकी छिन्। उनले यसैका लागि विदेशमन्त्री सुषमा स्वाराजसँग सहयोगको अपील गरेकी हुन्। उनले ट्विटरमा भनेकी छिन्, ‘कृपया ‘फ्री अ गर्ल’ एनजिओको सहसंस्थापकलाई सहयोग गरिदिनुहोला। जसलाई भिसा दिन भारतीय दूतावासले अस्वीकार गरिरहेको छ।’
‘फ्री अ गर्ल’ आन्दोलनकी सहसंस्थापक डच नागरिक एवलियेन होल्स्केनलाई भारतीय दूतावासले थुप्रै पल्ट भिसा दिन अस्वीकार गरेको छ। उनको एनजिओले भारतमा बालतस्करी विरुद्ध र महिला कल्याणको क्षेत्रमा काम गरिरहेको छ।
मल्लिका ‘स्कुल फर जस्टिस’ की ब्रान्ड एम्बेसडर हुन्। जसको पहल त्यही एनजिओले गरिरहेको छ। यसले वेश्यालयबाट जोगाएर ल्याइएको महिलाहरूको शिक्षा र तालिमको व्यवस्था गर्ने गर्छ। यसले ती महिलाहरूलाई वकिल बनाएर न्यायिक व्यवस्थाभित्र काम गर्न सक्षम बनाउने गर्छ। ‘म यो मुद्दामा निकै संवेदनशील छु। चाहन्छु, सरकारले यो एनजिओकी सहसंस्थापकलाई भारतको भिसा उपलब्ध गराएर सहयोग गरोस्’, उनले भनिन्।
मल्लिकाले भारतमा बाल तस्करीको विषयमा बनेको डकुमेन्ट्री ‘इन्डियाज एकिलिज हील’ मा काम गरेकी छिन्। जुन ‘फ्री अ गर्ल मुभमेन्ट’ का भोलेन्टियरले निर्माण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।