नयाँ दिल्ली (एजेन्सी)– बलिउडका वरिष्ठ अभिनेता दीलिप कुमारको स्वास्थ्य विगत केही महिनादेखि राम्रो छैन। ९५ वर्षीय दीलिप कुमारको स्वास्थ्य अवस्था बुझ्न बलिउडका बादशाह शाहरुख खान उनको घर पुगेका छन्।
सोमबार शाहरुखले केही समय दीलिप कुमारसँग बिताए र उनले यसको जानकारी आफ्नो ट्विटरमार्फत दिए। तस्बिरमा शाहरुख र दीलिप सँगै देखिएका थिए। शाहरुखले उनको हात समातेका छन् भने दीलिपको स्वास्थ्य अवस्था खस्किएको उनको अनुहारले देखाउँछ।
दीलिप कुमार शाहरुखलाई आफ्नै छोरा मान्छन्। गत वर्ष शाहरुख उनलाई भेट्न जाँदा दीलिपकी श्रीमती तथा पूर्व नायिका सायरा बानोले ट्विटरमार्फत शाहरुखलाई छोरा भनेर सम्बोधन गरेकी थिइन्। शाहरुखको पछिल्लो फिल्म ‘हेरि मेट सेजल’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेको थिएन। यतिबेला उनी ‘जिरो’ को सुटिङमा व्यस्त छन्। जसमा उनी होचा–पुड्काको भूमिकामा छन्। आनन्द एल रायको यो फिल्ममा केटरिना कैफ र अनुष्का शर्माको पनि भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।