काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ को आफ्नो चौथो खेलमा नेपालले केन्यामाथि ३ विकेटको रोमाञ्चक जित हात पार्यो। अन्तिम बलमा जितका लागि २ रन चाहिएको स्थितिमा नेपालले २ रन नै बटुल्दा खेल रोमाञ्चक बन्यो।
नामिबियाको वान्डरर्स मैदानमा केन्याले दिएको १ सय ७८ रनको लक्ष्य नेपालले अन्तिम बलमा ७ विकेटको क्षतिमा पार गरेको थियो।
स्ट्राइकमा रहेका सोमपाल कामीले डिएम ओडिम्बोको बललाई लेग साइडमा प्रहार गरेका थिए। त्यहाँ तैनाथ केन्याका फिल्डरले मिसफिल्ड गर्दा सोमपालले कुदेर २ रन ल्याउन सफल भए। त्यो नेपालका लागि सबैभन्दा खुसीको क्षण थियो भने केन्याका लागि 'हर्ट ब्रेकिङ' क्षण।
अन्तिम बलमा मिसफिल्ड गर्ने फिल्डर थिए, सेम एनगोचे।
महत्वपूर्ण समयमा मिसफिल्ड गर्नपुगेका एनगोचेले विक्षिप्त बने। उनले आँसु थाम्न सकेनन्। मैदानमा रोएर बसे। मैदानमा रिपोर्टिङका लागि पुगेका क्रिकेइन्फोका पत्रकार पिटर डेला पेनाका अनुसार अन्तिम बलमा खेल हारेपछि रोइरहेका एनगोचेलाई सम्झाउन केन्या तथा नेपाल दुवै टिमका कोही खेलाडी पनि गएनन्। सबैले उनलाई एक्लै छाडेका थिए।
नेपाली टिम जितको खुसी मनाउन लागेको थियो भने केन्या टिम हारको दुखमा ड्रेसिङ रुमतिर गएको थियो। यो अवस्थामा एनगोचे मैदानमा धेरैबेरसम्म रोएर बसेका थिए।
अन्त्यमा उनी एक्लै ड्रेसिङ रुममा गएका थिए। खेलपछिको पोस्ट म्याच प्रिजेन्टेसनमा केन्याका ६ खेलाडी मात्र आएका थिए। अरु खेलाडी ड्रेसिङ रुममा बसेका थिए। किनकि नेपालसँग हारेसँगै केन्याको प्रतियोगितामा शीर्ष २ मा पर्ने आशा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।