धनगढी– सामुदायिक वन, तालतलैया, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, विभिन्न भेषभुषा, जातजाति, रहनसहन, संस्कार र संस्कृतिले भरिएको जिल्ला हो कैलाली।
कैलालीमा १३ वटा स्थानीय तहले ताल, पार्क तथा मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइरहेका छन्। जिल्लामा थारु समुदायको कलासंस्कृति, रहनसहन, परिकार पर्यटकका लागि आकर्षण रहँदै आएको छ।
जिल्लाका हरेक स्थानीय तहमा पर्यटनको प्रचुर सम्भावना रहेको छ। स्थानीय तहहरूले पर्यटन विकासका लागि विविध प्रयास गरिरहेका छन्।
गोदावरी नगरपालिकाको गोदावरी धाम, हाटखोली, लामीताल, बनदेवी मन्दिर, बुढीताल, भल्का पिक्निकस्थल, मछेली नदी पर्यटकीय सम्भावना क्षेत्र रहेको पर्यटक व्यवसायीहरू बताउँछन्।
गौरिगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रयास भइरहेको छ।
त्यस्तै, घोडाघोडी नगरपालिकामा विश्व सिमसार सूचीमा सूचीकृत घोडाघोडी ताल रहेको छ। नगर प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडी नगरपालिकामा सबैभन्दा बढी सामुदायिक वन, तालतलैया रहेको बताए।
भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ। तीन वटै स्थानीय तहले डल्फिन क्षेत्र संरक्षणलाई प्रोत्साहन गरी आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने नीति लिइने उल्लेख गरेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिकाले कर्णाली नदीमा र्याफटिङलाई जोड दिएको छ। बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धामको विकासमा ध्यान केन्द्रित गरेको छ।
.jpg)
त्यस्तै, कैलारी गाउँपालिकाले वनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोइलही ताल, सामरचौरा गाउमा होमस्टे सञ्चालन र शिव मन्दिर खरेटी गाउमा पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ।
जोशीपुर गाउँपालिकाले लभ्ली पार्क निर्माण गरेको छ भने चुरे गाउँपालिकाले गर्भा दरबार, कम्पासे धुरा, राती पहिरो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ।
एक पर्यटकीय गन्तव्य बनाइनुपर्छ : व्यवसायी
पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरुले स्थानीय तहले एक पर्यटकीय स्थललाई विकास गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन्।
‘अहिले स्थानीय तहहरुले पर्यटन प्रवर्धनका लागि बजेट विनियोजन गरेका छन्,’ पर्यटन व्यवसायी मायाप्रकाश भट्टले भने, ‘तर, जसरी खर्च भइरहेको छ त्यो राम्रो देखिएको छैन। प्रत्येक स्थानीय तहले आफनो क्षेत्रको प्रमुख पर्यटकीय स्थलको पहिचान गरी कार्यक्रम अघि बढाउनुपर्छ।
उनले पर्यटन व्यवसायीहरुले चलाएको अभियानकै कारण प्रदेश तथा स्थानीय तहहरुले बजेट विनियोजन गरे पनि खर्च गर्ने तथा अनुगमनबीच तालमेल नमिलेका कारण खर्च अनुरुप प्रतिफल आउन नसकेको बताए ।
जाखोर ताल जलकुम्भीले कुरुप
धनगढी उपमहानगरपालिकाले अघिल्लो वर्ष मंसिर ८ गते जाखोर तालमा जलकुम्भी सरसफाइ अभियान ग¥यो। जाखोर तालमा हप्तामा एक दिन गरी चार हप्तासम्म जलकुम्भी हटाइएको थियो। गत असारमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई चरणमा सरसफाइ अभियान गरियो।
धनगढी उपमहानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यमा रहेको तालमा जलकुम्भ हटाउने अभियान अझै सकिएको छैन। जाखोर तालमा फैलिएको जलकुम्भीका कारण ताल कुरूप बन्दै गएपछि उपमहानगरपालिकाले ताल सफासुन्दर बनाउने अभियान सुरु गरे पनि सार्थकता पाउन सकेको छैन।
उपहमनगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टंक बिष्टले उपमहानगरपालिकाको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जलकुम्भी हटाउने अभियानमा रहेको बेला जाडो मौसम भनेर स्थगित गरेको बताए। ‘चौथो हप्ताभन्दा बढी सफा गर्न सकिएन। जाडो बढ्न थालेपछि सरसफाइ अभियान स्थगित गरेका हौं’ उनले भने।
.jpg)
उनले जिल्ला वनस्पति कार्यालय कैलालीले माछा पालनमा रोक लगाएस“गै धनगढीको जाखोर तालमा जलकुम्भी तथा फोहोरका कारण कुरूप बन्दै गएको बताए।
स्थानीय विक्रम चौधरीले पछिल्लो समय तालमा फोहोर बढ्दै गएको बताए । उनले स्थानीय महिलालाई ताल भोगचलन गर्ने दिएको बेला महिलाले महिनाको एक पटक ताल सरसफाइ गर्ने गरेको बताए। यो ताल झन्डै १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस तालमा विभिन्न प्रजातिका माछा, कछुवा छन् भने कमलको फूल पनि फुल्ने गर्छ।
धनगढीको मुख्य बजारबाट झण्डै चार किलोमिटरको दूरीमा रहेको यस तालको दृष्य रमणीय छ ।
धनगढीका चार पर्यटकीय गन्तव्य
धनगढी उपमहानगरपालिकाले जाखोर तालसंगै शिवपुरीधाम, बेहडाबाबा क्षेत्र र चिल्ड्रेन पार्कलाई प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउन लागेको छ। उपमहानगरपालिकाले शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको छ भने जाखोर तालको गुरुयोजना अनुसारको पूर्वाधार निर्माण कार्य सुरु गरिसकेको जनाइएको छ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले ‘चिल्डे«न पार्कदेखि बेहडाबाबा क्षेत्रसम्म पर्यटकको सहजताका लागि विभिन्न पूर्वाधार निर्माण भइरहेको छ।’
बेहडाबाबा क्षेत्रमा भादा होमस्टे, मन्दिर र ताल तथा तालको बीचमा रहेको मन्दिरको दृष्य रमणीय रहेको छ। धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ६ करोड ५७ लाख ८८ हजार रकम पर्यटन क्षेत्रको विकासका लागि विनियोजन गरेकोमा दुई करोड २७ लाख ८० हजार तीन सय १८ रकम खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ।
साइकल पथ तथा हरियाली पार्क निर्माण योजना
धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमित जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण गर्न योजना अघि सारेको छ।
उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने भएको हो।
सामुदायिक वन भित्रबाट बग्ने कैलाली खोला सहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक वनलाई स्थानीय उद्यान बनाउनुका साथै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसको वरिपरि साइकल ट्रयाक निर्माण गर्न उपमहानगरपालिकाले जनाएको छ।
‘वडा नं. ३ को सामुदायिक वन क्षेत्रदेखि शिवपुरीधाम, जाखोर ताल हु“दै बेहडाबाबासम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साइकल ट्रयाक निर्माण गरिने छ,’ उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड भने।
त्यस्तै नगर प्रमुख वडले खोलानालाको किनारामा भएको अतिक्रमण हटाई खाली जग्गामा यो आर्थिक वर्षमा हरियाली पार्क निर्माण गरिने समेत जनाएका छन्। धनगढी उप–महानगरपालिका अन्तर्गत वडा नं. ४, ५, ६, १३ को मानव बस्तीको बीचमा पर्ने ऐलानी, पर्ती, सार्वजनिक जग्गामा रहेको वनलाई वृहत धनगढी पार्क निर्माणका लागि डिपीआर तयार पारी काम अगाडि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।
धनगढी उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार भ्यू टावर तथा घन्टाघर निर्माणका लागि काम गरिरहेको जनाएको छ।
उपमहानगरपालिकाले नेतुवा ताल, जोखरतार, तिल्केताल, बेलाताल, वेहडाबाबाताल, चौफेरीताल, सुन्दरीताल र नथनीताल÷कथनीताल लगायत विभिन्न वडामा रहेका तालहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि बढाएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को आर्दश सामुदायक वनमा जडिवुटी खेतीको प्रारम्भ गरी सोही वनमा पिक्निकस्थल निर्माण गर्ने कार्यको थालनी गर्ने, पर्यटन प्रवद्र्धनका लागि होमस्टेको नीति प्रवद्र्धन गर्ने, भादा होमस्टेलाई थप प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक केन्द्रको रुपमा विकास गर्ने योजना बनाएको छ ।
गौशालाले बिगार्दै उद्यान
धनगढीको जाखोर तालसँगै जोडिएको वनस्पति जडिबुटी उद्यान। विभिन्न प्रजातिका बोटबिरुवालाई सजाएर राखिएको छ। तर, धनगढी उपमहानगरपालिकाले अस्थायी गौशाला सोही क्षेत्रमा रहेको सामुदायिक वनमा बनाएपछि उद्यानले संरक्षण गर्दै आएका बोटबिरुवा तथा जडिबुटी विनास हुने चुनौती बढेको छ।
धनगढीकै प्रमुख पर्यटकीय गन्तव्यमा रहेको जाखोर ताललाई थप मनमोहक यही उद्यानले बनाएको छ। तर, नजिकै रहेको गौशालाले भने यसलाई कुरुप बनाउने हो की भन्ने वनस्पती कार्यालयले चिन्ता व्यक्त गरिरहेको छ।
उपमहानगरपालिकाभित्र छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती देखिएपछि सोही स्थानमा रहेको सामुदायिक वनभित्र अस्थायी गौशाला निर्माण गरेको थियो। गत वर्ष नै वनस्पती कार्यालयले गौशाला हटाउन भनी धनगढी उपमहानगरपालिकाको कार्यालयमा पत्राचार गरेको थियो । तर, सो गौशाला भने हटेको छैन।
ओझेल परेको पार्क
२०६८ सालतिर दशरथ चन्द पार्कमा युवायुवतीको भीड लाग्ने गथ्र्यो। तर, उपमहानगरपालिकाले सो पार्क ठेक्कामा लगाएपछि स्थानीय पनि जा“दैनन्।
पटक–पटक सो पार्कको गुनासो उपमहानगरपालिकामा आएपछि नगर प्रमुख वडले ठेक्का रद्ध गर्ने प्रतिक्रिया दिएका थिए। तर, अहिलेसम्म सो ठेक्का रद्ध भएको छैन।
बन्द बालबालिका पार्क
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको शान्ति बाल उद्यान बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री रहेको छ। तर, यसभित्र बालबालिका तथा स्थानीयहरुले सहज प्रवेश गर्न भने पाएका छैनन।
यो उद्यान बालबालिकामा फूलवारी, पिरामिड योगधाम, शान्तिको प्रतिक परिको मूर्ति, चिप्लेटी, पिङ लगायत रहेका छन। तर, यो प्रायः बालबालिकाले यो उद्यानको बाहिरबाटै यी सबैलाई हेरेर चित्त बुझाउ“छन्।
धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको यो उद्यानलाई २०७० सालमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई दिने निर्णय गरेको थियो। सो निर्णयको तीन वर्षपछि २०७३ साल फागुनमा सो उद्यान सञ्चालनमा ल्याइएको थियो।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले सञ्चालनमा ल्याएदेखि सबै बालबालिकालाई सो उद्यानमा आफूखुसी जानमा रोक लगाइएको छ। धनगढी उपमहानगरपालिकाका नायव सुब्बा हेमराज भण्डारीले भने, ‘दैनिक बिहान ६ देखि ७ बजेसम्म ध्यान गर्नका लागि खुला हुन्छ। बालबालिकाका लागि शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म खुला रहने गरेको छ।’
यो उद्यान २०४२ सालमा चिल्ड्रेन पार्कका नाममा निर्माण भएको थियो। तत्कालीन नगर पञ्चायतले सो बाल उद्यान निर्माण गरेको थियो। त्यही बेलादेखि बाल उद्यानमा चिप्लेटी, झुला, पिङसहित बालबालिकाका लागि मनोरञ्जनका सामग्रीको व्यवस्था गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।