काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने बताएका छन् ।
आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, 'मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एकदुई वटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे । तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु ।'
उनले यस्तै नैतिक आँट र नैतिक उचाइ आफूप्रति औंलो ठड्याउने सांसदहरुमा पनि हुनुपर्ने बताए । उनले थपे, 'तपाईंका काण्ड बारेमा हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन् ।’ सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ भन्दै उनले सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु नहुने बताए ।
'स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने पनि सुनियो । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र ?' उनले भने ।
अर्थमन्त्री वाग्लेले आफूहरुले अस्थिरतालाई चिर्न खोजेको बताए । 'नयाँ दिशा लिन खोजेका हौं,' उनले भने, ' बजेट सर्वस्व होइन । २१ खर्बले बिउ रोप्ने मात्रै हो ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।