हेटौँडा- प्रदेश नं ३ का नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले आज पदबहाली गरेका छन्।
पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमुना सहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताए। उनले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानुन निर्माण तथा परिमार्जन गर्ने बताएका छन्।
मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकले ऐन कानुनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न आग्रह गरे। हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा गई उनले सहिदप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरे। त्यस अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि सहिद स्मारकमा पुष्पगुच्छा चढाएका थिए।
प्रदेश प्रमुख अनुराधा कोइरालाले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा पौडेललाई सपथ ग्रहण गराएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।