काठमाडौं- पाँच वटै राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाएका छन्।
आयोगले दिएको तीन दिनको समयसीमाभित्र दलहरुले समावेशी समूहको प्रतिनिधित्व हुनेगरी उम्मेदवारको छनोट गरी आयोगमा बुझाएका हुन्। आयोगले गत शुक्रबार मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सूची बुझाउन दलहरुलाई सोमबारसम्मको समय दिएको थियो।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै पाँच वटै दलले समावेशी समूहको प्राथमिकताको क्रममा आधारमा उम्मेदवार छनोट गरी सूची बुझाएको बताएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ आयोगले पाँच राजनीतिक दललाई सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुनेगरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनोट गरी निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न तीन दिनको समय दिएकोमा सोमबार सबै दलले उम्मेदवारहरुको नाम सिफारिस गरी आयोगमा पेश गरेका छन्।
दलहरुले पेश गरेका नामावलीलाई आयोगले समावेशी समूह र क्रम अनुसार मिले/नमिलेको जाँच गरी नमिलेका राजनीतिक दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।