काठमाडौं– साताको दिस्रो दिनको कारोबारमा नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार परिसूचक ४ दशमलब ४२ अंकले घटेर १ हजार ३ सय ८० दशमलब २९ अंकको बिन्दुमा रोकिएको छ।
सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने सामान्य रुपैयाँले बढेको छ। सोमबार १ सय ५६ कम्पनीको २४ करोड ६७ लाख ६ हजार ७ सय ८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबार २४ करोड ४२ लाख ६८ हजार ८ सय ३१ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।
सोमबार सिद्धार्थ बैंकको ‘प्रमोटर’ सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको १ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। त्यस्तै, नेपाल बैंकको १ करोड २० लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजै मात्र वार्षिक साधारणसभाको लागि शेयरधनी पुस्तिका बन्दको सूचना निकालेको साल्ट ट्रेडिङको सेयर मूल्य १० प्रतिशत अर्थात् २८ रुपैयाँले बढेके छ। त्यस्तै, हिमालयन डिस्टिलरीको सेयर मूल्य ५ दशमलब २३ प्रतिशतले बढेको छ।
सोमबार कारोबारमा आएका १० समूहमध्ये तीन समूहमा बढोत्तरी भएको छ भने ७ समूहमा गिरावट आएको छ।
कारोबारमा सर्वाधिक गुमाउनेमा बीमा समूहका लगानीकर्ता छन्। यो समूह ७३ दशमलब ०७ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह १४ दशमलब ६३ अंकले घटेको छ।
यता, विकास बैंक समूह ६ दशमलब ७६ अंकले बढेको छ भने ट्रेडिङ समूहमा ४ दशमलब ७२ अंकको वृद्धि देखिएको छ। त्यस्तै, अन्य समूह ३ दशमलब ९९ अंकले बढेको छ।
सोमबारको कारोबारमा सर्वाधिक गुमाउनेमा दिव्यश्वरी हाइड्रो पावरका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य ८ रुपैयाँले घटेको छ। त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीयको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।