लन्डन (एजेन्सी)- दोस्रो विश्वयुद्धमा प्रयोग भएको बम भेटिएपछि लन्डन सिटी विमानस्थल बन्द गरिएको छ। विमानस्थल रहेको थेम्स नदीमा बम भेटिएपछि आजका सबै उडान समेत रद्द गरिएको विमानस्थलका प्रवक्ताले जनाएका छन्।
विमानस्थल बन्द हुँदा आजका लागि उडान तय भएका विमानका करिब १६ हजार यात्रु प्रभावित हुने भएका छन्।
जर्ज भी डकस्थित विमानस्थलमा आइतबार थेम्स नदीमा बिहान ५ बजे बम भेटिएको प्रहरीले जनाएको छ। विमानस्थल थेम्सको बीचमै रहेको छ।
नगर प्रहरीका अनुसार राति १० बजेसम्म विमानस्थल बन्द हुने र बाँकी प्रक्रियाका लागि बेलायती जलसेनासँग समन्वय गरिनेछ।
यात्रुहरुलाई विमानस्थल प्रवेशमा रोक लगाइँदै नयाँ उडान समयका लागि एयरलाइन्ससँग सम्पर्क राख्न पनि भनिएको छ। विमानस्थलका प्रमुख कार्यकारी रोवर्ट सिन्क्लियरले यात्रुहरुलाई परेको असरप्रति माफी मागेका छन्।
उनले भने, ‘विमानस्थल, नगर प्रहरी तथा जलसेनासँगको पूर्ण समन्वयमा अगाडि बढ्नेछ। भेटिएको वस्तुलाई छिटोभन्दा छिटो सो स्थानबाट हटाई अवस्थालाई सामान्य बनाउने प्रयास गरिनेछ।’
सो विमानस्थलबाट ब्रिटिस एयरवेज, फ्लाइव, सिटीजेट, केएलएम तथा लुफ्थान्सा लगायतका विमान कम्पनीहरुले आन्तरिक तथा युरोपका विभिन्न सथनमा उडान भर्ने तालिका थियो।
लन्डनस्थित नगर प्रहरीले करिब २ सय १४ मिटर लामो विस्फोट हुनसक्ने खतरा भएको क्षेत्र छुट्याइएको छ। बम डिस्पोजको प्रक्रिया प्रयोग गर्ने तयारी समेत भइरहेको छ प्रहरीले जनाएको छ।
प्रहरीले सो क्षेत्र वरपर रहेका सडकमा सवारी निशेध गरेको छ। विमानस्थल र वुलविच आर्सनल जोड्ने रेल सेवा पनि बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।