मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ।
जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो। हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए।
लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन्। हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। उप्पलो मुस्ताङका सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन्।
हिमपातसँगै हुरीबतास पनि चलेको लोमानथाङ प्रहरी चौकीका प्रहरी जवान राजकुमार श्रेष्ठले बताए। एक फिट बाक्लो हिउँ जमेको छ। हिमपातपछि थोरङपास, मुक्तिनाथ, लोमानथाङ, छोसेर, छोनुप, फुवा, नेच्युङ भन्सा लगायत ठाउँमा यातायात अवरुद्ध भएको छ। चिसोका कारण नेच्युङ भन्सारमा हाल प्रहरी र कर्मचारी बस्दैनन्।
हिउँ परेपछि मुस्ताङमा स्याउखेती फष्टाउने, जौ, गहुँ, उवा, फापर लगायत बालीमा सिँचाइ हुने भएकाले किसान खुसी भएका हुन्। उपल्लो मुस्ताङ र मुक्तिनाथमा पर्यटक हिउँ खेल्न पाउँदा दंग छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।