बुटवल- माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ। यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ।
माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्युठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए।
यसअघि सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको नाम चर्चामा आए पनि दलले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको हो। माओवादीले केन्द्रको यसअघि आइतबार बिहान बसेको संसदीय दलको बैठकले रोल्पाका कुलप्रसाद केसीलाई संसदीय दलको नेता चयन गरिसकेको थियो।
यस्तै संसदीय बोर्डको सचिवमा पाल्पाका वसन्त घर्तीलाई छनोट गरेको समेत नेता केसीले जानकारी दिए। प्रदेश नं ५ मा सरकार निर्माणको प्रक्रिया अघि बढाउन आइबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले बहुमत प्रदेश सदस्यको समर्थनसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्। यो प्रदेशमा दुवै दलले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्रीका रुपमा अगाडि सारेका छन्।
पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल निर्माण हुने भएकाले माओवादी केन्द्रको संसदीय दलले मन्त्रिमण्डलमा पठाउने व्यक्ति छनोट गर्ने नेता केसीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।