नयाँ दिल्ली (एजेन्सी)- सञ्जय लीला भन्सालीको फिल्म 'पद्मावत' रिलिज भएको तीन साता बितिसकेको छ। फिल्मले अझै पनि बक्स अफिसमा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गरिरहेको छ।
यो साता अक्षय कुमार अभिनीत बहुप्रतीक्षित फिल्म 'प्याडम्यान' रिलिज भए पनि यसले 'पद्मावत'लाई खासै असर गरेको छैन। बलिउडका एक व्यापार विश्लेषक रमेश बालाको ट्विट अनुसार फिल्मले शुक्रबार ३.५० करोड र शनिबार ६.५० करोड भारु कमाएको छ। योसहित 'पद्मावत' को अहिलेसम्मको कमाइ २ सय ४६ करोड पुगेको छ।
आइतबार फिल्मको व्यापारले २ सय ५० करोडको आँकडा नाघ्ने अपेक्षा गरिएको छ।
दीपिका पादुकोण अभिनीत 'पद्मावत' उनको करिअरकै सबैभन्दा बढी कमाउने फिल्म बनेको छ। भारतका विभिन्न राज्यले पद्मावतको प्रदर्शनमा लगाएको प्रतिबन्धलाई सर्वोच्च अदालतले फुकुवा गरे पनि भाजपा शासित केही राज्यमा फिल्म प्रदर्शन भएन। यति हुँदाहुँदै पनि भारतमा फिल्मले राम्रो कमाइ गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ।
रानी पद्मावतीको भूमिका निर्वाह गर्ने अभिनेत्रीका अनुसार, फिल्मको सफलताको खुसियाली मनाउन अझै बाँकी नै छ र फिल्मको सफलताको यात्रा सकिएको छैन।
फिल्मको सफलताको खुसियाली दीपिका कसरी मनाउँदै छिन् त?
उनी भन्छिन्, 'इमानदारीपूर्वक भन्ने हो भने, सफलताको उत्सव मनाउने कुनै निश्चित समय हुँदैन भन्ने मलाई लाग्छ। किनकि अहिले खुसियाली अन्तर्गत नै धेरै कुरा भइरहेका छन्। पक्कै पनि यो खुसियाली मनाउने समय हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।