काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल व्यवस्थापन संघको ३७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौं न त भन्ने समय नरहेको धारणा व्यक्त गरे।
संघीयताबारे नेपालको अनुभव नरहेकाले आफैंले अभ्यास गरेर अघि बढ्नुको विकल्प नरहेको चर्चा गर्दै ओलीले भने, 'अब हामीले राजनीतिक र आर्थिक पाटोलाई देशको अनुकूल तुल्याउँदै अलि तीव्र गतिमै हिँड्नुपर्छ। अब हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित भएको छ।'
नेपालले ठूलो बलिदान र लामो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्रको मूल्य मान्यता, यथार्थ र साँचो अभ्यासलाई कुनै हालतमा नछाड्ने उनले बताए।
कार्यक्रममा गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आर्थिक संरचना र संगठनको निर्माण, पूर्वाधार क्षेत्रमा गुणस्तर, जिम्मेवारीप्रति निष्ठा, विज्ञताको प्रयोग र निजी क्षेत्रबाट आवश्यक सहयोग भएमा विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कुनै चुनौती खडा हुन नसक्ने बताए।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि भ्यालरी जुलियटले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा नेपालले ठूलो प्रगति हासिल गरेको स्मरण गराउँदै दिगो विकासको लक्ष्य हासिल गर्न शान्ति, योजना र सहयात्राको भावना हुनुपर्नेमा जोड दिए।
यस्तै, पूर्व सचिव कृष्ण ज्ञवालीले नेपालको आर्थिक र सामाजिक धरातललाई विश्लेषण गर्दा ज्यादै चिन्तित र निकै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताए।
आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट र उपाध्यक्ष राजेन्द्र पण्डितले संघीयता कार्यान्वयनसँगै सबै किसिमको व्यवस्थापन गर्न सहज हुने धारणा व्यक्त गरे। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।