काठमाडौं– सगरमाथा आरोहणमा शेर्पाहरुको वीरताका कथा धेरै सुनिएका छन्। सगरमाथा आरोहीका भरिया बनेर जीवनस्तर उकासिएका र त्यो क्षेत्रमा शेर्पा बस्तीहरु पर्यटकका कारण धनी बनेका कुरा धेरै आएका छन्।
कति शेर्पाको धनी बन्ने सपना साकार पारेको सगरमाथाले कतिका सपना निलिदिएको छ। सगरमाथाको हिउँले सपना निलिएको एक शेर्पा परिवारको कथा यसपल्ट मण्डला थिएटरमा नाटकका रुपमा मञ्चन भइरहेको छ।
‘कालापत्थरमाथि’ले सगरमाथाको फेदका शेर्पाको जनजीवनको दुःखका कथा भनेको छ। विशेष गरी जीवनस्तर उकास्ने आसमा भरिया बनेर सगरमाथा चढ्दा ज्यान गुमाएका सयौं शेर्पाहरुको प्रतिनिधित्व गरेको छ।
शुक्रबारदेखि मञ्चन भइरहेको नाटकले अरुको कीर्तिमानीका लागि एक भरिया बन्न शेर्पाले दिएको योगदानलाई दर्शाउँदै दुःख देखाएको छ। प्रदीप चौधरीले नाटक निर्देशन गरेका छन्। अंग्रेजी साहित्यका विद्यार्थी पनि रहेका रंगकर्मी चौधरी भन्छन्, ‘अंग्रेजी साहित्यमा समुद्र र त्यससँग मान्छेका संघर्षका विषयमा थुप्रै कथा छन्। तर, नेपालमा हिमाल छ। त्यससँग पनि मान्छेले संघर्ष गरिरहेको हुन्छ। त्यही विषयमा कथा लेख्न र नाटक मञ्चन गर्न मन लागेर ‘कालापत्थरमाथि’ सिर्जना भएको हो।’
शेर्पाकै वेशभूषा र लवजमा प्रस्तुत गरिएको नाटकमा दावाको भूमिका सन्तोष तामाङले, डोल्माको भूमिका निशा पाख्रिनले, छिरिङको भूमिका प्राश्ना डंगोलले र पेम्बाको भूमिका पत्रिका घिमिरेले निर्वाह गरेकी छिन्।
यसैगरी, लामाको भूमिकामा वारात गुरुङ, दोर्जेको भूमिकामा विकास घिसिङ, लाक्पाको भूमिकामा सञ्जीव राई देखिएका छन् भने पुष्कर कार्की, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ र बालकृष्ण खत्री आरोही बनेका छन्।
प्रदीप चौधरीकै मञ्च परिकल्पना रहेको नाटकको मञ्च निर्माणमा वारात लिम्बू र जोनेन केसीले साथ दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।