काठमाडौं- आगामी फागुन ११ गतेदेखि निष्कासन हुन लागेको साञ्जेन र रसुवागढी हाइड्रोपावरको साधारण सेयर(आइपिओ) मा आवेदन दिन अनिवार्यरुपमा परिचयपत्र बोकेर लगानीकर्ता स्वयं जानुपर्ने भएको छ।
सेयर निष्कासनकर्ता सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार तिमल्सिनाले कम्पनीहरुले निष्कासन गर्न लागेको सेयरमा आवेदन दिन तोकिएको स्थान वा आस्वा सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुमा आवेदक आफैं जानुपर्ने बताए।
उनले भने, ‘अनलाइन प्रणाली भए पनि तोकिएका व्यक्तिले मात्रै आवेदन दिन पाउने हुँदा आवेदन दिने कर्मचारीले आफ्नो परिचयपत्र बोकेर तोकिएको स्थानमा जानुपर्छ।’
दुवै कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म पहिलो चरणको आइपिओ निष्कासन गर्न लागेका हुन्। पहिलो चरणमा साञ्जेनले ७१ लाख १७ हजार कित्ता र रसुवागढीले १ करोड ३३ लाख कित्ता सेयर निष्कासन गर्नेछ। दोस्रो चरणमा चैत ५ गतेदेखि १३ गतेसम्म कर्मचारीहरुका लागि सेयर निष्कासन हुनेछ। यसमा कर्मचारी सञ्चयकोष, नेपाल विद्युत् प्राधिकरण, चिलिमे हाइड्रोपावर कम्पनी तथा रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीहरुले प्राथमिक सेयरमा आवेदन दिन पाउनेछन्।
आवेदकमध्ये सञ्चय कोषका सञ्चयकर्ताले साञ्जेनको लागि न्यूनतम ५० देखि अधिकतम तीन सय कित्ता र रसुवागढीको लागि न्यूनतम ५० देखि अधिकतम पाँच सय कित्तासम्मको लागि आवेदन दिन पाउनेछन्। त्यस्तै, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको हकमा साञ्जेनमा न्यूनतम ५० देखि अधिकतम तीन सय कित्ता र रसुवागढीमा न्यूनतम ५० देखि अधिकतम पाँच सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
कर्मचारी सञ्चय कोषका कर्मचारीको हकमा साञ्जेनमा न्यूनतम ५० देखि एक हजार र रसुवागढीमा न्यूनतम ५० देखि अधिकतम २ हजार पाँच सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
यी कम्पनीका आइपिओमा प्रतिकित्ता एक सय रुपैयाँको दरमा आवेदन दिन सकिनेछ। लगानीकर्ताले सेयर बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्री गर्न पाउने छैनन्।
साञ्जेनको आइपिओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल भएका र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्नेछन्।
यसैगरी, रसुवागढीमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल भएका र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गतेसम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीले हाल निष्कासन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन्।
रसुवागढी हाइड्रोको साधारण सेयर निष्कासनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यस्तै, सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड छन्। त्यस्तै, साञ्जेन कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।