काठमाडौं- माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सरकारले राज्यको ढुकुटीमा मनपरी गर्दै रकम बाँडेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवालाई १ रुपैयाँ चन्दा संकलन अभियान सुरु गरेको छ।
राज्यको ढुकुटीको चरम दुरुपयोग गर्दै प्रधानमन्त्री देउवाले आफ्ना पार्टीका नेता-कार्यकर्तालाई करोडौं रकम वितरण गरेको भन्दै अखिल क्रान्तिकारीले देशका विभिन्न स्थानमा १/१ रुपैयाँ चन्दा संकलन गरिरहेको छ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले डडेलधुरा, कञ्चनपुर, धनगढी, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, विरगञ्ज, जनकपुर, विराटनगर, भद्रपुर, काठमाडौं लगायतका स्थानमा चन्दा संकलन गरिरहेको बताए।
क्रान्तिकारीले संकलित रकम सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यालयमार्फत प्रधानमन्त्री देउवालाई पठाउने तयारी गरेको छ।
प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट आफ्नै सरकारका धनीमन्त्री कहलिएका रक्षामन्त्री भिमसेनदास प्रधानलाई ५० लाख रुपैयाँ उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।