काठमाडौं– एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड गाभिएर आइतबारदेखि एकीकृत कारोबार शुरु गरेका छन्। दुवै कम्पनी गाभिएर एनआइबिएल एस क्यापिटल लिमिटेडको नाममा आजदेखि संयुक्त रुपमा कारोबार सुरु गरेका हुन्।
दुई संस्थाबीच गत कात्तिक २३ गते भएको सहमतीपत्र बमोजिम दुवै कम्पनीले गत मंसिर २९ गते विशेष साधारणसभा गरी गाभिने प्रस्ताव पारित गरेका थिए।
मर्जरपछि एनआइबिएल एस कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ। मर्जरपछि बनेको संस्था सबैभन्दा धेरै चुक्ता पुँजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) बनेको हो। कम्पनीको १ लाख ४२ हजार भन्दा धेरै हितग्राही खाता र ४ वटा शाखा कार्यालय हुनेछन्। कम्पनीले थप तीन शाखा विस्तारको तयारी गरेको छ।
कम्पनीले अहिले ३८ वटा कम्पनीको सेयर रजिस्ट्रेसनको काम गर्दै आएको छ। यसमार्फत करिब १० लाख शेयरधनीलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकमा एस डेभलपमेन्ट बैंक गाभिएसँगै दुवैका सहायक संस्था एनआइबिएल क्यापिटल र एस क्यापिटल पनि गाभिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।