काठमाडौं- धितोपत्र बजारमा यस साता एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १ सय ७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता सेयर खरिद-बिक्री भएको हो। कारोबार रकम गत साताको भन्दा १३ दशमलब ३१ प्रतिशत बढी हो। गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता सेयर रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजारमा खरिद-बिक्री भएका थिए।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९ दशमलब ४८ अंकले घटेर अन्तिम दिन एक हजार ३९१ दशमलब ०३ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब ९४ अंकले घटेर २ सय ९४ अंकमा आइपुगेको छ।
यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको रु १६ करोड ४७ लाख १० हजार बराबरकोसेयर कारोबार भएको थियो। कारोबार भएको सेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा छ। सो बैंकको चार लाख ६१ हजार कित्ता सेयर कारोबार भएको हो।
यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। यस साता बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ बोनस सेयर, आइएसडिसी लघुवित्तको २३ लाख कित्ता हकप्रद र छिमेक लघुवित्त वित्तीय संस्थाको १६ लाख ५९ हजार २९३ कित्ता बोनस सेयर सूचीकृत भएका छन्।
यस्तै आइसिएफसी फाइनान्स कम्पनीको आठ लाख तीन हजार ८ सय ८५ कित्ता, सोल्टी होटलको ८६ लाख ८८ हजार २ सय ४४ कित्ता र स्वदेशी लघुवित्त संस्थाको एक लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको स्टकले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।