दार्चुला- सरकारी लगानीमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन शनिबारदेखि सुरु भएको छ।
दार्चुला र बैतडी जिल्लाको सिमाना बलाचमा निर्मित यो आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
आयोजनाले एक महिना बढी समय लगाएर दुई चरणमा परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि व्यावसायिक उत्पादन थालेको हो। सन् २००७ देखि निर्माण सुरु गरेको आयोजनाले झन्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन सुरु गरेको छ।
करिब साढे १५ अर्बमा निर्मित यो आयोजना निर्माण सुरु भएको १ दशकपछि सम्पन्न भएको हो।
आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ। दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन सुरु गरेको थियो।
सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले पहिलो पटक गरेको सम्झौताभन्दा झन्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो। ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको थियो। आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत समेत बढेको हो।
८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।