काठमाडौं– आगामी मार्च १० मा आयोजना हुने ‘दबंग द टुर’ का लागि बलिउड अभिनेता सलमान खानसहितको टोली नेपाल आउने तयारीमा छ।
सलमान खानसहित अभिनेत्री सोनाक्षी सिन्हा लगायतका चर्चित कलाकारको नेपाल भ्रमणको कार्यक्रमबारे निकै चर्चा चलिरहेको छ। तर, दबंग द टुरमा आयोजकका तर्फबाट सलमान खानसँगै नाच्नका लागि गरिएको प्रस्ताव नेपाली अभिनेत्रीहरुले भने अस्वीकार गरेका छन्। अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, मोडल एलिसा राई लगायतलाई उक्त सोमा प्रस्तुतिका लागि आयोजकले आग्रह गरेका थिए।
आयोजकले नेपाली अभिनेत्रीलाई सलमानसँग कोरसमा रहेर नाच्न प्रस्ताव गरेकाले अस्वीकार गरेको उनीहरुले बताएका छन्। सलमानसँग नाच्न पाउनु ठूलो अवसरका रुपमा व्याख्या गर्दै आयोजकले नेपाली अभिनेत्रीहरुसँग तल्लोस्तरको व्यवहार गरेको प्रियंका कार्कीको भनाइ छ। कार्कीका अनुसार सलमान खान साँझ ६ बजेपछि स्टेज उक्लने भए पनि आयोजकले नेपाली अभिनेत्रीहरुले भने दिउँसो १२ बजेदेखि नै 'फिलर'का रुपमा नाच्न अफर गरेका हुन्। उनी भन्छिन्, 'यो प्रस्ताव हामीलाई स्वीकार्य छैन।'
त्यस्तै, अर्की अभिनेत्री स्वस्तिमा खड्काले पनि आयोजकले निकै होच्याएर अफर गरेकाले स्विकार नगरेको बताइन्। उनले मंगलबार एक कार्यक्रममा बोल्दै भनिन्, 'यदि सलमान खान नेपाली गीतमा नाच्ने भए हामी उक्त अफर मान्न तयार थियौं। तर, आयोजकले सलमानसँग हिन्दी गीतमा कोरसका रुपमा मात्र नाच्ने अफर गरेपछि त्यो हाम्रा लागि अपमानको कुरा हो।’
उनले यति ठूलो बजेटको कार्यक्रममा दर्शकलाई महँगो टिकट बेचिने भए पनि आफूहरुलाई भने निःशुल्क काम गर्न प्रस्ताव आएको बताइन्। खड्काले भनिन्, 'सलमानसँग नाच्न पाइन्छ भनेर हामी निःशुल्क काम गर्नेवाला छैनौं। यदि, सलमानले नेपाली गीत 'कुटुमा कुटु'मा नाच्छन् भने चाहिँ म उनीसँग नाच्न तयार छु।'
ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा ५० हजारभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।