शहरमा चर्चा छ, अभिनेता अनमोल केसीको। अनि फिल्म ‘कृ’को।
‘स्टारडम’को अंकगणितमा नेपाली फिल्म क्षेत्रका एक नम्बर हिरो अनमोल नै हुन्। ‘फ्यान फ्लोइङ’, चर्चा–परिचर्चा र पारिश्रमिकका हिसाबले उनी अग्रपंतिमा छन्।
निरन्तर सफल फिल्म दिँदै आएका उनी दुई वर्षपछि दर्शकमाझ आएका छन् र दुई वर्षपछि नै देखिएका हुन् मिडियामा पनि।
बालुवाटारस्थित एक होटलमा भेटिएका उनको आँखामा एक खालको ‘कन्फिडेन्ट’ थियो।
उनले सुरुमै भने, ‘अहिलेसम्म सबभन्दा धेरै मिहिनेत गरेको फिल्म हो। फिल्म गर्नुअघि एक वर्ष तालिममा बिताएको छु।’
आत्मविश्वासी देखिनुमा उनलाई आफ्ना तर्फबाट सक्दो राम्रो काम दिन सकेँ भन्ने लागेको रहेछ।
एक चकलेटी हिरोको एक्सन अवतारले योङस्टरहरुमा चासो बढाएकै छ। फिल्ममा उनका दुई रुप (लामो कपालवाला ग्याङस्टर र छोटो कपालवाला लभरब्वाइ) देखिएका छन्।
कहीँकतै लाग्छन्– फिल्म ‘डन २’का शाहरुख खान।
र, त्यही कुरा अनमोललाई भनियो।
उनी हौसिए, ‘हो, शाहरुख खानको फ्लेभर छ? यसलाई म कम्प्लिमेन्टका रुपमा लिन्छु।’
उनी शाहरुखका ‘फ्यान’ रहेछन्।
‘कसैले ममा कहीँकतै शाहरुखको झल्को देखिन्छ भन्यो भने म खुसी हुन्छु, तर म बन्न चाहिँ अनमोल केसी नै बन्छु’, उनी भन्दै गए, ‘उहाँको ठूलो फ्यान भए पनि कपी चाहिँ केही गर्दिनँ।’
‘किङ खान’बाट सिक्नुपर्ने कुरा भने धेरै रहेको उनले बताए।
‘अभिनय त भइहाल्यो, मिडिया ह्यान्डिलिङ उहाँबाट म अझ बढी सिक्न चाहन्छु’, उनले भने।

आफूलाई ‘स्टार’ बनाइराख्न मिडियाको भूमिका जरुरी रहेको उनले बुझिसकेका रहेछन्। आफूलाई सञ्चार माध्यममा कसरी प्रस्तुत गर्ने भन्ने कुरामा उनी सचेत छन्। अचेल उनी तौलेर बोल्न थालेछन्, तर कुरा नलुकाउने पुरानो बानी यथावतै रहेछ। उनलाई सञ्चारमैत्री बनाउनमा उनको बुवा भुवन केसीको ठूलो सहयोग छ।
अघिल्ला फिल्महरु आउँदा घरमा भुवन आफैं पत्रकार बनेर अनमोलको अन्तवार्ता गर्थे। अघिल्लोपल्ट अनमोललाई भेट्दा यो रहस्योद्घाटन गरेका थिए।
- सानो उमेरमै चर्चा छ। हिट छन्। उनलाई हिरो बनाउन लाखौं तिर्न तयार निर्माता छन्। फाइदै फाइदा छन् उनलाई।
लाग्नेलाई यस्तै लाग्दो हो। तर, हाम्रो बसाइमा उनले यसका बेफाइदा बताइदिए हामीलाई।
प्रश्न गरियो– बेफाइदा के त?
‘साथीहरुसँगै भृकुटीमण्डप गएर खेल्न मन हुन्छ। फिल्म हेर्न जान रहर हुन्छ। क्लब जान मन लाग्छ। तर, जहाँ गए पनि फ्यानले घेरिहाल्छन्’, उनले भने।
जानैपर्ने ठाउँमा भेष बदलेर जान्छन्। उनलाई निरन्तर पछ्याउनेले त त्यसो गर्दा पनि चिन्छन्। त्यसकारण उनले आफूलाई खुम्च्याउनुपरिरहेको छ।
पछिल्लो दुई वर्ष त अझ ‘गुप्तबास’ नै हुनुपर्यो उनले। किनभने उनी आफूलाई फरक लुक्ससहित फिल्ममा देखाउँदै थिए। लामो कपाल पालेको र जिमले सुगठित बनाएको शरीर ‘कृ’ले मागेको थियो। त्यसलाई लिक गर्न नहुने सर्त फिल्मका निर्देशक सुरेन्द्र पौडेलले तेर्स्याएका थिए।
अनमोलमाथि लगभग चार करोडको फिल्म बनाउने निर्माताद्वय सुवास गिरी र भुवन केसीको चाहना पनि यही थियो। उनलाई पनि मनासिव लाग्यो। त्यसपछि त झन् साथीभाइसँगका रमाइला र भेटघाट घटाउनैपर्ने भयो।
उनलाई सधैं डर हुन्थ्यो– कसैले मेरो नयाँ लुक्स लिक पो गरिदिन्छ कि ?
त्यसमा उनी सफल भए।
उनी जति धेरै लुक्दै गए, त्यति नै फ्यान र मिडियाले बढी खोज्न थाले। यसबाट उनलाई अर्को ठूलो सिकाइ भयो। त्यसैले उनी एकैचोटि फिल्म रिलिजको संघारमा देखिए। त्यसअघि देखियो उनको नयाँ रुप, फिल्मको ट्रेलरमा।
यो बीचमा उनले अनगिन्ती फ्यान भेटेका छन्। फ्यानका अनेक प्रकारका प्रेम दर्शाउने शैली देखेका छन्।
उनलाई सबैभन्दा धेरै प्रभावित पारेको भने केटी फ्यानको एउटा समूहले हो। उनीहरु अनमोल बस्ने ठाउँ खोज्दै आएका थिए। अनमोल घर बाहिर छन् भन्ने खबर पाउँदा एक झल्को हेर्नकै लागि राति अबेरसम्म कुरेका थिए।
‘मलाई यो हदसम्म माया गर्ने फ्यान पनि रहेछन् भनेर असाध्यै खुसी भएको थिएँ’, उनले उत्साहित हुँदै भने।
हो, यस्तै फ्यान अनमोलको नयाँ फिल्म कुरिरहेका छन्। अनमोलबाट त्यही स्तरको अभिनयको अपेक्षा पनि गरिरहेका छन्।
अनमोल निर्धक्क भन्छन्, ‘म उमेरले परिपक्व हुँदै गएको छु र मेरो काम पनि परिपक्व हुनुपर्छ भन्नेमा सचेत नै छु।’
यो सुझबुझ कायम राखेमा निःसन्देह अनमोल नयाँ पुस्ताका स्टार हुन्। लामो समय राज गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।