दार्चुला- सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ।
आयोजनाले एक महिना बढी समय लगाएर दुई चरणमा परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेकोले भोलिदेखि व्यावसायिक उत्पादन शुरु गर्ने भएको हो।
शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ। दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो।
सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो। ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ।
निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ।
आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको हो। ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए।
प्रधानमन्त्रीले उद्घाटन गर्ने
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चमेलिया जलविद्युत आयोजनाको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आयोजनास्थल पुग्ने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए।
प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्ने उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।