काठमाडौं- कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई जहाज खरिदमा दिएको ऋण सुरक्षित रहेको बताएको छ।
कोषको ५८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कोषका प्रमुख प्रशासक तुलसी गौतमले नेपाल वायुसेवा निगमलाई दिइएको ऋण पूर्ण सुरक्षित रहेको दाबी गरेका हुन्।
केही दिन अघि मात्रै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समिति अन्तर्गतको उपसमितिले जहाज खरिदमा कोषले गैरजिम्मेवारी पूर्ण ढंगबाट लगानी गरेका कारण जनताको लगानी जोखिममा रहेको रिर्पोट बुझाएको थियो।
जहाज किनेको एक वर्षभन्दा बढी समय हुँदासमेत कोषले अझै ब्याज तथा किस्ता पाएको छैन। लामो समयसम्म किस्ता तथा ब्याज नपाएपछि कोषको ऋण जोखिममा परेको भन्दै आवाज उठेको थियो। कोषले वाइडबडी जहाज खरिदमा १२ अर्ब रुपैयाँ लगानी गरेको थियो।
कर्मचारी सञ्चय कोष र नागरिक लगानीको कोषसँग ऋण लिएर निगमले गत असार र साउनमा गरी दुई वटा वाइडबडी नेपाल ल्याएको थियो। २ सय ७४ सिट क्षमताको वाइडबडी जहाज खरिदमा निगमले प्रतिथान जहाज झन्डै ११ करोड डलर खर्च गरेको थियो। जहाजले अहिले व्यवसायी उडान पनि गरिरहेको छ। तर, लामो दुरीको गन्तव्यमा जहाज उडान गर्न नसक्दा निमलाई वाइडडबी जहाज उडानबाट झन्डै एक वर्षमा ४ अर्ब रुपैयाँ समेतघाटा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।