काठमाडौं– कमेडी तथा सोसल ड्रामामा आधारित फिल्म ‘जय भोले’को निर्माण घोषणा गरिएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिइयो।
अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको कथा, पटकथा तथा संवाद रहने फिल्मलाई अशोक शर्माले निर्देशन गर्ने भएका छन्। शर्माकै पारिवारिक लगानीमा फिल्म बन्ने भएको हो।
एए ग्रुप अफ कम्पनिज र फिल्म वल्र्ड प्रालिको ब्यानरमा बन्ने फिल्ममा खगेन्द्र लामिछाने सहित सौगात मल्ल, बसुन्धरा भुसाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ।
शिवरात्रिको अवसरमा फागुन १ बाट सुटिङ सुरु गर्ने तयारीमा रहेको फिल्म आउँदो दशैंको फूलपातीबाट प्रदर्शन आउनेछ।
पुरुषोत्तम प्रधानले छायांकन गर्ने फिल्ममा राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत तथा रोशन विक्रम भट्टराईको द्वन्द्व रहनेछ।
स्वस्तिमाले मागिन् माफी
‘जय भोले’को निर्माण घोषणा कार्यक्रमका लागि सञ्चारकर्मीसहित र फिल्म युनिटलाई सवा १२ बजे बोलाइए पनि कलाकारहरु समयमा उपस्थित कार्यक्रम निकै ढिलो सुरु भएको थियो। यसमा पनि कार्यक्रमको अन्तिमतिर मात्र आइपुगेकी थिइन्, स्वस्तिमा खड्का।
सार्वजनिक कार्यक्रममा सधैं किन ढिला भन्दै पत्रकार सोधेको प्रश्नमा स्वस्तिमाले गल्ती भएको भन्दै माफी मागेकी थिइन्। उनले आफूलाई कार्यक्रम सवा १ बजे हुने भनेर सूचना आएको बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।