काठमाडौं- केही मानिसको जीवनकथा वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन्। प्राध्यापक केआर खम्बूको आत्मकथामा उनको वैयक्तिक कथामात्रै छैन, त्यसबेलाको सामाजिक र राजनीतिक परिवेशको चित्रण पनि छ।
झापा आन्दोलनताका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकालीन कम्युनिस्ट नेताहरूसँग राजनीतिक सहयात्रा गरेका खम्बू ‘छायाँको लस्कर’ पुस्तक लिएर आउँदै छन्। उभयचर र सरीसृप प्राणिमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्बूको 'छायाँको लस्कर' आत्मपरक शैलीको पुस्तक हो।
उनी झापा आन्दोलनबाट सुरु भएको कम्युनिस्ट क्रान्तिका सक्रिय कार्यकर्ता पनि थिए। उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सिपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपाल, गोविन्द न्यौपानेहरूको संगतको किनारबाट अघि बढेको थियो।
पढाइकै क्रममा नेत्र ज्योति गुमाएका प्राध्यापक खम्बूले पुस्तकमा विगतका तिनै अविस्मरणीय क्षण र सम्झनालाई उधिनेका छन्। खुट्टामा जुत्ता नहुने पूर्वी पहाड खोटाङको बाल्यकालदेखि तराई झरेको तरूनो अवस्था र राजधानीको विद्यार्थी राजनीतिको सेरोफेरोमा उनको कथा घुमेको छ।
हाल मेची क्याम्पसमा प्राध्यापनरत खम्बूले आफ्नो जीवनको कथामार्फत आफ्नो परिवेश र उतिबेलाको समयको कथा बुनेको बताए।
पुस्तक दसैंअगावै प्रकाशनको तयारीमा रहेको प्रकाशन संस्था पब्लिकेसन्स नेपालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।