काठमाडौं– जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका ८ जनाविरुद्ध आज सुरु भएको थुनछेक बहस हेर्दाहेर्दैमा सकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
व्यवसायीलाई धम्क्याउँदै रकम उठाउन खोजेको आरोपमा गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश कुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए।
उनीहरुमध्ये आज थापाको बयान सकिएर थुनछेक बहस सुरु भएको थियो। भोलि पुन: थुनछेक बहस हुने बताइएको छ।
प्रहरी जवान भट्टराईले जेलमा रहेका गुन्डा नाइके बस्नेतलाई पटकपटक फोन गर्नका लागि आफ्नो मोबाइल दिएको आरोप लागेको छ।
त्यस्तै पक्राउ परेका गृहमन्त्री थापाका भाइ नरेशले आफूले समीरमानलाई जेलमा भेटेको र व्यवसायीलाई धम्क्याएर रकम असुल्न काममा संलग्न भएको आरोप लागेको छ।
उनीहरुमाथि आपराधिक लाभ र संगठित अपराधमा मुद्दा दायर भएको छ।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा गुन्डा नाइके बस्नेत पक्राउ परेपछि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्।
जेलमा बसकै बेला उनले आफ्ना केटाहरु प्रयोग गरेर धम्क्याउँदै रकम असुल्ने धन्दा लागेको प्रहरीले जनाएको छ। यसरी रकम उठाउने गिरोहसँग गृहमन्त्री थापाका भाइको कनेक्सन देखिएपछि उनी पनि पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।