काठमाडौं- सेन्ट्रलाइज्ड एप्लिकेसन फर आस्बा वेस्ड इस्युऐन्स (सि–आस्वा) प्रणालीलाई आगामी फागुन ११ देखि अनिवार्य कार्यान्वयन गरिने भए पनि लगानीकर्ताका लागि अनिवार्य इन्टरनेट सेवा आवश्यक छैन।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रकाश गुप्ताले सि–आस्वा सेवा लिन अनिवार्य रुपमा इन्टरनेट सेवाग्राही हुनु नपर्ने बताए। उनले सि–आस्वा सेवा आस्वा सेवा प्रदायक बैंक र वित्तीय संस्थालाई मात्र अनिवार्य गरिएकाले लगानीकर्ताले पहिले जसरी नै आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थामा गएर आवेदन दिन सक्ने बताए।
उनले भने, ‘सि–आस्वा सेवा बैंक तथा वित्तीय संस्थाले लगानीकर्ताको हितग्राही खाता रुजु गरेपछि प्रत्येक लगानीकर्ताका लागि सि–आस्वा रजिष्ट्रेसन (सिआरएन) नम्बर प्रदान गर्नेछन्।’
उनले आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेका लगानीकर्ताले मात्र खरिद आवेदन दिन सक्ने बताए।
सिआरएन नम्बर प्राप्त लगानीकर्ताले बैंकमा उपस्थित भई फारम भरेर सेयर खरिद आवेदन दिनसक्ने गुप्ताले बताए। सेवा लिन कुनै शुल्क नलाग्ने उनले स्पष्ट पारे।
उनले लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन चाहेको खण्डमा मात्रै सेयर मार्फत आवेदन दिन सकिने बताए। त्यसका लागि सेवाग्राहीले वार्षिकरुपमा ५० रुपैयाँ तिर्नुपर्नेछ।
लगानीकर्तालाई बढी फाइदा होस् भन्ने उद्देश्यले सि–आस्वा सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत गुप्ताले बताए। सि–आस्वा सेवा अनिवार्य गरिएपछि कति आवेदन पर्योम भन्ने कुरा उही दिन थाहा हुने र सेयर बाँडफाँट एक हप्तामै गर्न सकिने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।