काठमाडौं- जिल्ला अदालत काठमाडौंले अवैधानिक रुपमा थाइल्यान्ड बसेर नेपालीहरुलाई ठगी गरेको आरोपमा पक्राउ परेमा पर्शुराम गुरुङलाई थुनामा पठाएको छ।
जिल्ला अदालतले मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराधमा पुर्पक्षका लागि थुनामा पठाएको हो। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले गुरुङलाई मुलुकी कार्यविधि संहिताअनुसार थुनामा राख्न आदेश गरेको हो।
गुरुङसहितको समूहले वैदेशिक रोजगारीमा लैजाने आर्कषक प्रस्ताव देखाएर समूहलाई नै ठगी गरेको थियो।
गुरुङको समुहले गैरकानुनी रुपमा मानव ओसारपसार गरेको भन्दै २१ जनाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उनीहरुले १ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबर संगठित रूपमा ठगी गरेको अभियोग जिल्ला अदालत काठमाडौंमा दायर भएको थियो।
क्यानडाको नक्कली पिआर देखाएर थाइल्यान्डबाट ठगी
गुरुङको समूहले ठगी गर्न मानव ओसारपसारका लागि क्यानडाको पिआर लोभसमेत देखाएको थियो।
आफूसँग क्यानडाको पिआर कार्ड भएको भन्दै अन्यलाई पनि त्यसको लोभ देखाएका थिए।
तर यसरी ठगी गर्ने गुरुङ आफैं भने भिसा बिना अवैध रूपमा थाइल्यान्डको राजधानी बैंककमा बस्ने गर्दथे।
क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्ट स्टोरको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।
क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने गर्दथे। त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खातामा राख्ने गरेका थिए।
आठ वर्षयता बैंककमा बसेर मानव तस्करीको जालो थाप्दै सयौंसँग करोडौं रुपैयाँ ठगी गर्ने गुरुङ अन्ततः थाई प्रहरीको फन्दामा परेका थिए।
नेपाल प्रहरीले रेडक कर्नर नोटिस जारी गरेपछि उनी थाई प्रहरीको नजरमा परेका थिए।
गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा मात्रै ३४ पीडितले निवेदन दर्ता गराएका थिए।
ठगीमा परेर लाखौं रुपैयाँ गुमाएका दुई दर्जनभन्दा धेरै पीडित सम्पर्कमा आएका थिए।
उजुरी गर्नेहरूले ५ करोड रुपैयाँभन्दा धेरै गुमाउनु परेको दाबी गरेका थिए।
सीआईबीका अनुसन्धानमा उनको समूहले दुई सय जनाभन्दा धेरैबाट ५ करोडभन्दा बढी ठगेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको थियो।
गुरुङविरुद्ध सिआइबीमा २०७२ सालदेखि नै उजुरी पर्न थालेको थियो।
महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंमा पनि दर्जनौं पीडितले निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।