काठमाडौं– ७ मध्ये ६ वटा प्रदेशमा आज राष्ट्रियसभाको लागि निर्वाचन सम्पन्न भएको छ। प्रदेश २ मा भने ८ वटै पदका सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
आज सम्पन्न निर्वाचनमा कुन प्रदेशमा कस्तो अवस्था रह्यो?
प्रदेश १ मा शतप्रतिशत मतदान
प्रदेश १ मा शतप्रतिशत भएको छ।
यो प्रदेशमा दिउँसो १ बजे नै मतदान सकिएको थियो। प्रदेशमा स्थानीय तहका २ सय ७४ र प्रदेशसभाका ९३ गरी कुल ३ सय ३७ मतदाता थिए।
यहाँ महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध भइसकेका थिए। त्यसैले दलित १ र अपांगता/अल्पसंख्यक १ गरी २ पदका लागि निर्वाचन भएको थियो। यहाँ ४ जना प्रतिस्पर्धी थिए।
प्रदेश २ मा मतदान नै भएन
निर्वाचन अघि नै ८ वटै पदमा निर्विरोध भएका कारण यो प्रदेशमा निर्वाचन भएन।
प्रदेश ३ मा शतप्रतिशत मतदान
प्रदेश ३ का कुल ३ सय ४८ जनाले नै मतदान गरेका छन्। यो प्रदेशमा स्थानीय तहका २ सय २३ र प्रदेशसभाका १ सय १० सदस्य नै मतदान गरेका हुन्।
प्रदेश ३ मा ८ वटै पदमा निर्वाचन भएको थियो। यो प्रदेशमा १४ जना प्रतिस्पर्धी थिए।
प्रदेश ४ मा मनाङेले हालेनन् भोट
सपथ नै नलिएका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) बाहेक प्रदेश ४ मा अन्य सबैले मत हालेका छन्।
कुल २ सय ३० मतदाता रहेको प्रदेश ४ मा २ सय २९ जनाले भोट हाले। प्रदेश ४ मा अपांगता भएका वा अल्पसंख्यक समूहका १ जना निर्विरोध निर्वाचित भएका थिए। अन्य ७ पदका लागि निर्वाचन भएको थियो।
प्रदेश ५ मा २ मत खसेन
कुल ३ सय ५ जना मतदाता रहेको प्रदेश ५ मा २ जनाले मत हालेनन्। फोरमबाट निर्वाचित बिना पन्त र अहमद साहले मत हालेनन्। यो प्रदेशमा महिला ३ जना निर्विरोध निर्वाचित भइसकेका थिए। त्यसैले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समूहका १ जना गरी ५ पदका लागि निर्वाचन भएको थियो।
प्रदेश ६ मा शतप्रतिशत मतदान
प्रदेश ६ मा शतप्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ८ सदस्यका लागि भएको निर्वाचनमा १ सय ९८ जना मतदाताले मतदान गरे। खुल्ला र महिला तथा दलित र अल्पसंख्यक, अपांगका लागि १२ जनाले उम्मेदवारी दिएका थिए।
प्रदेश ७ मा राजपा सांसदले भोट हालेनन्
राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश ७ मा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले भोट हालेनन्।
दुई जना सांसद रहेको राजपाका सांसदले बुधबार भएको मतदानमा सहभागी भएनन्। कैलालीबाट चुनाव जितेका कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश ७ मा २ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।