काठमाडौं- बलात्कार घटनामा मिलापत्र गराएको आरोप लागेका सुनसरीका एसपी विद्यानन्दी माझीलाई निलम्बन नगर्न उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दबाब दिएका छन्। दबाबकै कारण गृह मन्त्रालयले निलम्बनको निर्णय गर्न सकेको छैन।
प्रारम्भिक छानबिनमा एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर चिरञ्जीवी दाहालको मिलापत्रमा संलग्नता देखिएपछि निलम्बनका लागि प्रहरी प्रधान कार्यालयले सिफारीस गरेको थियो। तर, गृहसचिव मोहनकृष्ण सापकोटाले दबाबका कारण निलम्बन गर्न सकेका छैनन्। ‘प्रधानमन्त्री कार्यालयबाटै नै फोन आएको छ,’ गृहका एक अधिकारीले भने।
गत पुस १६ गते इटहरीको रोयल लजमा साथीकै सहयोगमा एक किशोरीमाथि बलात्कार भएको थियो। जून घटना प्रहरीमा पुगेकोमा मिलापत्र गराइएको थियो। मिलापत्रमा एसपी नै सहयोग गरेको संघीय प्रहरी इकाई धरानका एसएसपी हरि पाल संयोजकत्वको छानबिनमा खुलेको थियो।
एसपी माझी उपप्रधानमन्त्री गच्छदारका आफन्त हुन्। उनले नै आफ्नो गृह जिल्लामा माझीको सरुवा गरेका थिए। निर्वाचनमा पनि माझीले गच्छदारलाई सहयोग गरेको भन्दै अन्य दलका उम्मेदवारहरुले एसपीको विरोध गरेका थिए।
अहिले उनै गच्छदारले यस्तो गम्भीर घटनामामा मुछिएका माझीमाथिको अनुसन्धानलाई प्रभावीत पार्न खोजेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।