विराटनगर– राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नम्बर १ मा २ सदस्यका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमा लागि प्रदेश सांसद र प्रदेश १ का स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दैछन्।
प्रदेश १ को ८ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि यसअघि ६ सिट टुंगो लागिसकेको छ। खुल्ला र महिलातर्फ ३, ३ सिटमा टुंगो लागिसकेको छ भने दलित र अल्पसंख्यकको दुई सिटमा ४ जनाको उम्मेदवारी परेको छ।
निर्वाचनका लागि बिहान १० बजेदेखि बेलुकासम्म समय तोकिएको छ। निर्वाचन सुरक्षाका लागि उच्च सुरक्षाव्यवस्था गरिएको छ भने भोट खसालेर बाहिर निस्किने सहज व्यवस्था गरिएको प्रदेश नम्बर १ का निर्वाचन कार्यालयका सहायक अधिकृत नवराज दुलालले जानकारी दिए।
दलिततर्फ १ पदका लागि नेकपा एमालेबाट खेमराज नेपाली र नेपाली कांग्रेसबाट बिनकुमार विश्वकर्मा चुनावी मैदानमा छन्। त्यस्तै, अल्पसंख्यक र अपांगतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र कांग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा छन्। अल्पसंख्यक र अपांगतातर्फ राप्रपाकी अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ६ जना निर्विरोध चयन भएका थिए।
प्रदेश नम्बर १ निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुल्लातर्फ एमालेका परशुराम मेघी गुरुङ (संखुवासभा), कांग्रेसका रमेशजंग रायमाझी (मोरङ) र एमालेका हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित भएका हुन्। यस्तै, महिलातर्फ एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी बिना पोखरेल (मोरङ) र कांग्रेसकी सरिता प्रसाईं (झापा) निर्विरोध चयन भएका छन्।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा ३ सय ६६ मतदाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।