जनकपुरधाम - प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहिन हुन पुगेको छ।
दुवै दलका शीर्ष नेताबीच मंगलबार जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजेदेखि थालिएको वार्ता साँझसम्म पनि निष्कर्षमा पुग्न नसकेको हो।
दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको हो। राजपाले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरे पनि फोरमका अध्यक्ष उपेन्द्र यादवले त्यसलाई अस्वीकार गरेको स्रोत बताउँछ।
प्रदेश नं २ मा सङ्घीय समाजवादी फोरम नेपालको २९, राष्ट्रिय जनता पार्टीको २५, नेकपा एमालेको २१, नेपाली काँग्रेसको १९, माओवादी केन्द्रको ११, नेपाल सङ्घीय समावादी पार्टीको एक र स्वतन्त्र एक सांसद छन्।
बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले चाँडै नै पुनः वार्ता गरी यस बिषयलाई निष्कर्षमा पुर्याइने बताए।
बैठकमा फोरमबाट अध्यक्ष उपेन्द्र यादव, नेताद्वय रेणु यादव र लालबाबु राउत गद्दी तथा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु शरत्सिहं भण्डारी, राजेन्द्र महतो, महेन्द्र यादव र अनिल झाको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।