काठमाडौं- कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वजनिक-निजी साझेदारी (पिपिपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीहरुले बताएका छन्। बुधबारदेखि काठमाडौंमा भइरहेको नेपाल पूर्वाधार सम्मेलन २०१९ को बिहीबारको ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीहरुले यस्तो बताएका हुन्।
युवा उद्यमीहरुले विभिन्न ५ ओटा नविनतम विधामा आफ्ना नमूना उद्यमशील अवधारणा (आइडिया हन्ट) प्रस्तुत गर्दै पिपिपी मोडलमा लगानी गर्न सकिने बताएका हुन्। कार्यक्रममा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताए। कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायातका साधन सञ्चालनका लागि २४ अर्ब ९ करोड रुपैयाँ तत्काल लगानी गर्न सकिने उनको भनाइ छ।
कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्नसक्ने उनको सुझाव छ। प्रदेश राजधानी सुर्खेत उपत्यकामा अहिले रिक्सा र टेम्पो मात्रै सञ्चालन भएको र अन्य जिल्लामा जोडिने गरी यातायात सञ्चालन गर्न सके प्रतिफल पनि प्राप्त हुने तिवारीको तर्क छ।
यस्तै ‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनियरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको मत राखे। यसले पर्यावरण संरक्षणमा सहयोग पुर्याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने उनको भनाइ छ।
नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै अहिले वार्षिक ७ अर्ब स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन सघाउने उनको दाबी छ। बायो इञ्जिनियरिङ को रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उनले यस अध्ययनले विजनेस हाउस , किसान र कम आयस्रोत भएका व्यक्तिहरु पनि लगानीका लागि आउनसक्ने उनले विश्वास व्यक्त गरे। यसका लागि पिपिपी अवधारणामा लगानी गर्न सकिने उनको निष्कर्ष छ।
युनाइटेड वर्ल्ड स्कुल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकोले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गरे। प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्यांक संयोजनमा सहयोग पुग्ने उनको भनाइ थियो।
यसैगरी, स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समयको बचत र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गरे। उनले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताए।
द टिम आवास की विधी मण्डलले नेपालका प्रमुख सहरहरुमा प्लास्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लास्टिक र ४० प्रतिशत बालुवा र अन्य मिश्रण प्रयोग गरी इटा बनाउन सकिने नयाँ अवधारणा प्रस्तुत गरिन्। अहिले परीक्षणको रुपमा इटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको उनले जानकारी दिइन्।
स्मार्ट घर समूह की सृष्टि अवालेले होम अटोमेसन को प्रयोगले दैनिकी निकै सहज हुने बताइन्। उनका अनुसार स्मार्ट घरले मोवाइल एप को विकास गरेकोले न्यूनतम ६० हजार रुपैयाँको लगानीबाट यो सुविधा लिन सकिन्छ। यो एपको प्रयोगबाट घरको ढोका, झयालदेखि, आइरन, बत्ति, पानीको ट्यांकी पनि बन्द गर्न बिर्सिएको भए पनि जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उनको भनाइ छ।
इनर्जी एक्स का सञ्जयराज भण्डारीले स्वच्छ इन्धनः स्वदेशी उत्पादन सम्बन्धी विषयमा आफ्नो धारणा राखे। वायो ग्यास उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएकोमा ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पिक उर्जा उत्पादन गर्न सकिने उनले सुझाए।
उक्त सत्रमा उपस्थित युवा उद्यमीहरुले ट्राफिक व्यवस्थापन, कंक्रिट सडक निर्माणलगायतका क्षेत्रमा पिपिपी अवधारणा अनुसार लगानीको सम्भावना भएको बताएका थिए। विभिन्न विधामा पिपिपीलगायतका अवधारणामा आधारित १० वटा अवधारणा प्रस्तुत गरिएको थियो।
प्रस्तुत भएका अवधारणा (आइडिया हन्ट) मध्ये उत्कृष्ट तीनलाई नेपाल उद्योग परिसंघले पुरस्कृत गर्दैछ। पहिलो हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। (फाइल तस्बिर- रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।