काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ता गरेको छ।
बिहीबार अपराह्न नेकपाको तर्फबाट दल दर्ताको निवेदन निर्वाचन आयोगमा प्रस्तुत गरिएको नेकपाका स्थायी समिति सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विटमार्फत जानकारी दिएका छन्।
नेकपाको बुधबार बसेको सचिवालय बैठकले दल दर्ता गर्नका लागि महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिएको थियो।
निर्वाचन आयोगले भदौ १६ गते सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको थियो। आयोगले इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ।
यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलहरुले भने उपनिर्वाचनका लागि दल गर्नु पर्दैन। निर्वाचनपछि तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएका कारण दल दर्ता गर्नुपरेको हो।
यसअघि ०७४ बैशाख, असार र असोजमा गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। त्यस्तै, मंसिर १० र २१ गते प्रतिनिधि र प्रदेशसभाका लागि निर्वाचन भएको थियो। तर विविध कारणले तीनै तहमा गरी ५१ स्थानहरू रिक्त छन्। रिक्त स्थान पूरा गर्नका लागि आयोगले आगामी मंसिर १४ गते निर्वाचन गर्ने घोषणा गरेको हो।
सो दिन एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक नगरपालिकाको प्रमुख, तीन गाउँपालिकाका अध्यक्ष, एक उपाध्यक्ष र ४२ वडाध्यक्ष गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।