विराटनगर- उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले एउटा निर्वाचनमा पराजित हुँदैमा कांग्रेस सकिन्छ भन्ने सोच कसैले राख्न नहुने बताएका छन्।
१ नम्बर प्रदेशबाट विजयी जनप्रतिनिधिको सम्मानमा कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा गच्छदारले गच्छदारले बताउँदै पार्टीलाई एकढिक्का बनाएर लैजाने महत्वपूर्ण भूमिकामा आफू क्रियाशील हुने जानकारी दिए। उनले पार्टी संगठनलाई क्रियाशील बनाउनुपर्ने बताएका छन्।
गच्छदारले जनताको स्वतन्त्रताका लागि राणाशासनदेखि नै कांग्रेसले आन्दोलन गरेको स्मरण गराउँदै नेपाली जनताको यस पार्टीलाई कसैले पनि समाप्त गर्न नसक्ने बताए।
उपप्रधानमन्त्री गच्छदारले समानुपातिक निर्वाचनतर्फको मतपरिणामले कांग्रेसप्रति जनताको विश्वास रहेको छ भन्दै पार्टीभित्रको गुट-उपगुटकै कारण पार्टीले पराजय भोग्नुपरेको टिप्पणी गरे।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएकाले देश समृद्धि बनाउने कार्यमा लाग्नुपर्ने बताए।
यस्तै, कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा शेखर कोइराला लगायतले पार्टीलाई संगठित बनाउन एकता आवश्यक रहेकामा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।