काठमाढौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने निर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो।
निर्वाचन आयोगमा दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिस्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउने निर्णय गरेको हो।
नेपाल कम्युनिस्ट पार्टी कोष्ठ भित्र नेकपा लेखिने गरि निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि दल दर्ता गराउनु परेको हो।
बैठकले दल दर्तासम्बन्धी सम्पूर्ण काम गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको बैठकपछि प्रवक्त्ता नारायण काजी श्रेष्ठले जानकारी दिए।
निर्वाचन आयोगले उपनिर्वाचनको लागि नयाँ दलहरुका लागि भदौ मसान्तको समय तोक्दै सूचना प्रकाशित गरिसकेको छ।
यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने बिषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।