काठमाडौं– आज राष्ट्रियसभाको निर्वाचन हुँदैछ।
निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यले मत हाल्न पाउँछन्।
बिहान १० देखि १ बजेसम्म मतदान समय तोकिएको छ। निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए। प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरस्थित पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिक सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ।
आयोगले दिएको जानकारी अनुसार निर्वाचनका लागि २१ राजनीतिक दलहरुले भाग लिन निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो। ६ जना उम्मेदवारले नाम फिर्ता लिएका र एक जनाको उम्मेदवारी रद्द गरिएको पनि आयोगले जानकारी दिएको छ।
२४ जना निर्विरोध निर्वाचित भएको र अब ३२ पदका लागि मात्रै निर्वाचित हुने आयोगले बताएको छ। आजको निर्वाचनका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।