सुर्खेत- प्रदेश नम्बर ६ मा एक साताभित्रै सबै मन्त्रालय स्थापना गरिने भएको छ।
फागुन ५ गतेसम्म मुख्यमन्त्री निर्वाचित गरिसक्ने कार्यक्रम भएकाले त्यसअघि नै सबै मन्त्रालय स्थापना गरिसक्ने तयारी गरिएको मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिए।
हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएकाले अब अन्य मन्त्रालयको व्यवस्थापनका लागि मर्मतसम्भारका काम सुरु गरिएको उनले बताए। जनशक्ति अभावका कारण मन्त्रालयको व्यवस्थापनमा ढिलाइ भएको प्रमुख सचिव प्रधानको भनाइ छ।
प्रदेश संरचना अनुसार यस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका सात मन्त्रालय हुनेछन्। सो अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय रहनेछन्।
प्रदेश ६ मा वाम गठबन्धनको सरकार बन्ने भएको छ। प्रदेशसभाका सदस्य संख्याका हिसाबले सबैभन्दा सानो रहेको यहाँ ४० सांसद छन्। २४ जना प्रत्यक्ष तथा १६ जना समानुपातिकमध्ये एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्।
वाम गठबन्धनबीच प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रलाई दिने तथा एमालेलाई सभामुख दिने सहमति भइसकेको छ। सुर्खेतस्थित शैक्षिक तालिम केन्द्रलाई प्रदेशसभा हल निर्माण गर्न तीन महिना लाग्ने जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।