काठामाडौं– प्रदेश नम्बर २ को प्रादेशिक सरकारको विषयमा निर्णय गर्न मधेसकेन्द्रित दुई दल आन्तरिक गृहकार्यमा जुटेका छन्।
प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएसँगै २ नम्बर प्रदेशको नेतृत्वको टुंगो लगाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले औपचारिक छलफल अघि बढाएका हुन्।
प्रदेश नम्बर २ को संसदीय दलको नेता चयन गरेको फोरम सरकार गठनका विषयमा राजपासँग औपचारिक संवादमा बसेको हो। सरकार गठनका लागि राजपाले यसअगाडि राख्दै आएको छलफलको प्रस्तावलाई फोरमले ढिलाइ गर्दै आएको थियो। फोरमले आइतबार रातिसम्म चलेको प्रदेश कमिटीको बैठकले लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको थियो।
प्रदेश २ को प्रादेशिक सरकारको नेतृत्वमा फोरमको दाबी छ। निर्वाचनमा जानुअघि प्रदेशको सबैभन्दा ठूलो दलले मुख्यमन्त्री र दोस्रो हुने दलले सभामुख पाउने शीर्ष नेतृत्वबीच समझदारी बनेको छ। फोरम नेता शिवजी यादवले सोही सहमति अनुसार सिट बाँडफाँटको प्रक्रिया अघि बढ्ने बताए।
राजपाले केही सिटको मात्र फरक रहेकाले मुख्यमन्त्रीमा आलोपालो गर्न सकिने प्रस्ताव यसअगाडि अघि सारेको थियो। नेता यादवले मुख्यमन्त्रीमा आलोपालोको अडान राजपाले राखेको खण्डमा नयाँ परिस्तिथि अनुसार अघि बढ्न सकिने धारणा राखे।
प्रदेश २ मा फोरमले २९ सिट जितेको छ। राजपा नेपालले प्रदेशसभामा २५ सिट हात पारेको छ।
राजपा नेता मनिषकुमार सुमनले प्रदेश २ मा फोरम राजपाको सरकार बन्ने दाबी गरे। ‘प्रादेशिक सरकार फोरम र राजपाले बनाउने हो। त्यसमा सहमतिमा रहेर हामी निष्कर्ष निकाल्छौं,’ उनले भने।
निर्वाचन सम्पन्न भएको करिब २ महिनापछि राजपा र फोरम औपचारिक संवादमा जुटेका छन्। प्रदेश २ को राजधानी जनकपुरमा जारी दुवै दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै, सभामुख, उपसभामुख र मन्त्रीहरुको विषयमा निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।