मुम्बई (एजेन्सी)– रानी पद्मावतीको जीवनीमा आधारित फिल्म ‘पद्मावत’को कडा विरोधपछि रिलिज भएको केही दिन बित्न नपाउँदै ‘मणिकर्णिका– द क्विन अफ झासी’को विरोध हुन थालेको छ।
‘मणिकार्णिका– द क्विन अफ झासी’ रानी लक्ष्मीबाईको जीवनीमा आधारित छ र यसको चरित्र अभिनयमा कंगना रनोट छिन्। जयपुरमा पत्रकार सम्मेलन गर्दै सर्व ब्राह्मण महासभाका अध्यक्ष सुरेश मिश्राले आरोप लगाए– यो फिल्ममा रानी लक्ष्मीबाईको इतिहासमाथि छेडछाड भएको छ। लक्ष्मीबाईको एक बेलायतीसँग सम्बन्ध देखाउने कोसिस भइरहेको छ। महासभाले राजस्थान सरकारसँग फिल्मको सुटिङ रोक्न अपील गर्दै तीन दिनको समय दिएको छ।
मिश्राले फिल्मको सुटिङमा जोडिएको व्यक्तिले आफूलाई यो सूचना दिएको बताए। र, उनले भने, ‘ऐतिहासिक तथ्यलाई तोडमोड गरिएको छ। फिल्म विदेशी किताबलाई आधार मानेर बनाउन लागिएको छ। रानीको प्रतिष्ठामाथि आँच पुर्याउने काम भइरहेको छ।’
मिश्राले महारानी लक्ष्मीबाईको बेलायतीसँग सम्बन्ध भएको कसैले सोच्न पनि नसक्ने बताउँदै भने, ‘उनी अंग्रेज सेनासँग लडेर युवाअवस्थामै सहिद भएकी थिइन्। यदि उनको फिल्म बन्दैछ भने बायोपिक हुनुपर्छ।’
महासभाले फिल्म निर्माता कमल जैनलाई चिट्ठी लेखदै आफ्नो फिल्मको लेखक, इतिहासकारको प्रोफाइल र फिल्ममा देखाउने गीतको डिटेल उपलब्ध गराउन आग्रह गरेको छ। निर्माताको तर्फबाट अहिलेसम्म कुनै उत्तर आइसकेको छैन। लक्ष्मीबाईको सुटिङ राजस्थानसहित उत्तरप्रदेशको थुप्रै ठाउँमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।