काठमाडौं- रातको १० बजेपछि डोनेस्क सहरको फुटपाथमा गोडाका चालहरु देखिँदैनन्। न त कसैको हिँडाइको टकटक आवाज नै कानसम्म पुग्छ। यो समय रातको सैनिक कर्फ्यु सुरु हुनभन्दा एक घण्टा पहिलेको हो। तर, बन्दुकका अगाडि कोही किन जोखिम उठाओस्?
यसैले त अहिले सबै घरभित्र छन्। डरले हो या निद्राले सब शान्त छन्। यस्तै शान्ति कर्फ्यु सकिने समय बिहान ४ बजेसम्म रहन्छ। त्यसपछि बल्ल देखिन थाल्छ- सहरमा केही हलचल।
डोनेस्क यस्तो सहर हो, जुन कुनै समय ‘सपना’बाट उठेको थियो। युक्रेनको पूर्वतर्फ रसियाको सिमाना नजिकै पर्छ डोनेस्क। जहाँ राजनीतिक अस्थिरतासँगै पछिल्ला वर्षमा सीमा विवादले उग्र रुप लिइरहेको छ। सन् १९९० देखि द्वन्द्वमा परेको युक्रेन १९९१ मा स्वतन्त्र भएपछि पनि ‘स्वतन्त्र’ हुन सकेको छैन।
द्वन्द्वका कारण झण्डै १३ हजारले ज्यान गुमाएका छन्। संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार १३ लाख मानिस घर छाडेर हिँडेका छन्। संघर्ष गरेर बसेकामध्ये डोनेस्कमा जति छन्, उनीहरु पनि वर्षौंको विभेदले कमजोर बनेका छन्।
उनीहरुको सहरको सामाजिक जीवनको केन्द्र बनेको फुटबल क्बल ‘शेख्तर डोनेस्क’समेत सहरबाट भाग्नुपरेको छ। युक्रेनको लिग विजेता क्लब शेख्तर डोनेस्क अहिले युरोपका उत्कृष्ट २० टिममध्ये एक हो। जसले आफ्नो मैदानमा घरेलु दर्शक भेट्न पाएको छैन।
पछिल्लो राजनीतिक संघर्ष अप्रिलबाट देखिएको हो। जहाँ विभाजनको पक्षमा रहेका रुसी समर्थनका हतियारधारी समूहले डनबास क्षेत्रको ठूलो हिस्सामा कब्जा जमाए। त्यसैमा परेको हो, डोनेस्क पनि। जहाँ कब्जा गर्नेहरुले आफैले ‘जनगणतन्त्र डोनेस्क’ स्थापना भएको घोषणा गरेका छन्।
युक्रेन सरकारले अलग भएको घोषणामा संघर्ष गरिरहेको डोनेस्कमा विभिन्न समूहलाई उक्साउने र हतियारसहित सेना पठाएको आरोप रसियालाई लगाइरहेको छ। आरोप निराधार भएको खबरहरु मस्कोबाट आइरहेका छन्। तर, विद्रोहमा केही रसियन स्वयमसेवीहरु लागिरहेको रसियाले स्वीकार गरेको छ।
५० हजार दर्शक क्षमताको डनबास रंगशालामा इलिचिभेट्स मारियपोल क्लबलाई ३-१ ले हराएर डोनेस्कले लगातार पाँचौँ वर्ष लिग उपाधि जितेको हो। जहाँ झण्डै १८ हजार युद्धको बन्धनबाट फुत्किएर आएका थिए।
शेख्तर डोनेस्कले लिग जितेको दुई दिनपछि जनगणतन्त्र डोनेस्कको झण्डा फहराइएको थियो। त्यो पनि गैरकानुनी रुपमा प्रहरी हेडक्वार्टरमा। त्यसमा युक्रेनी सेनाले जवाफी हमला गरे। त्यसको एक महिना अघि त रसियाले दक्षिणतर्फ क्रिमियन प्रायद्वीपमा कब्जा नै जमाएको थियो।
डनबास रंगशाला त्यही मैदान हो जहाँ २०१२ को युरोकप सेमिफाइनल खेल खेलाइएको थियो। जतिबेला विश्व विजेता स्पेनले टाइब्रेकरमा पोर्चुगललाई हराएको थियो। खेल रंगशालामा उपस्थित हजारौँ दर्शकसँगै टेलिभिजनमा करोडौँले हेरेका थिए। अहिले त यो मैदानले फुटबल देखेको छैन। कुनै खेल खेलिँदैन। यसको इतिहासका कथाहरु त्यहाँ बढिरहेको झारभित्र हराइरहेको छ।
डनबास रंगशाला दुईपटक त पूर्ण रुपमा क्षतिग्रस्त नै भएको हो। पहिलो पटक लगातारको गोली बर्षापछि लागेको आगोका कारण र अर्को युक्रेनी रकेट त्यही नजिक खसेको थियो। त्यसैको झड्काले रंगशालामा दर्शक बस्ने माथिको छानासमेत खसेको छ। त्यसको मर्मत त भएको छ तर यसलाई सुरक्षित घोषणा गर्न एउटा लामो जाँचको खाँचो औँल्याइएको छ।
यो वर्ष च्याम्पियन्स लिगमा जब शेख्तर डोनेस्कले इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ, त्यो उनीहरुको आफ्नो मैदानमा हुने छैन। त्यहाँबाट सय माइल पश्चिमतर्फ खारकिभमा हुनेछ। जहाँ २०१८ को च्याम्पियन्स लिगमा पनि उनीहरुले घरेलु मैदानका रुपमा खेलेका थिए।
‘विस्फोटका कारण ध्वस्त भएको रंगशालाको छाना मर्मत गर्नु नै निकै खर्चिलो छ’ रंगशालाको संरक्षणमा लागेका भिक्टोरिया सुनाउँछन्। त्यहाँ कुनै समय आर्मीहरु नै काममा खटिएका हुन्थे। अहिले त जनगणतन्त्र डोनेस्कको घोषणापछि मैदान मिलाउन रकमकै अभाव भइरहेको छ। भिक्टोरिया भन्छन्, ‘अब यसलाई सुधार गरेर खेल्न मिल्ने बनाउन त सकिन्छ तर जनगणतन्त्र डोनेस्कसँग त्यसका लागि पर्याप्त रकम छैन।’
खेलाडीहरु मैदान पस्ने टनेलको तल २०१७ सम्म खानेकुराका साथै औषधीहरुको ठूलो भण्डार देखिन्थ्यो। जुन युक्रेनबाट ल्याएर सुरक्षित साथ राखिएको हुन्थ्यो। त्यसमा शेख्तर डोनेस्कका मालिक रिनेट अख्मतोवको ‘लेट्स हेल्प’ सहायता अन्तर्गतका सामग्री थिए। जुन धनि भनिएका मानिसहरुको खुला मनको केही उपकार पनि थियो।
जनगणतन्त्र डोनेस्कको स्थापना लागेकाहरुका कारण असुरक्षा बढ्दै गएपछि डोनेस्क क्बलले आफ्नो सहर छाडेर भाग्नुपरेको थियो। जहाँ उनीहरु अझै फर्किन सकेका छैनन्। खेलाडीहरुलाई जनगणतन्त्र डोनेस्कका सेना र युक्रेनका सेनाबीचबाट मैदानसम्म लैजान पनि सम्भव छैन।
शेख्तर डानेस्कको मिडिया विभागमा काम गर्ने ओलेग एन्टीपोव अहिले फुटबल क्लब सहरबाट टाढा हुनाले मानिसहरु अव्यवस्थित भएको बताउँछन्। उनका अनुसार मानिसहरु शेख्तर डोनेस्कका अध्यक्ष रिनेट अख्मतोभलाई स्वीकार गर्दैनन्। ‘उनको पैसा र प्रभाव सहरका लागि काम लाग्न त सक्छ तर उनी अहिले यहाँका मानिसका लागि केही होइनन्’ उनले भने।
जनगणतन्त्र डोनेस्कका खेलकुद मन्त्री निकोलाइ तारापट यसबारेमा डोनेस्क क्लबका अध्यक्ष अख्मतोभकै निर्णय अन्तिम हुने बताउँछन्। ‘यो अख्मतोभमा नै भर पर्ने कुरा हो, उनको निर्णयबारे हामी केही भन्दैनौँ। खै के कारण उनले डोनेस्क छाडेर क्लबलाई अन्तै लिएर हिँडे हामीलाई थाहा छैन। के थाहा कुनै दिन शान्तिको लागि शेख्तर डोनेस्क नै पो कारण बन्छ कि।’
शेख्तर डोनेस्कले घरेलु सहर छाडेर हिँडे पनि उनीहरु द्वन्द्वको प्रभावबाट टाढा हुन सक्ने अवस्था भने छैन।
२०१७ मा युक्रेनको राष्ट्रवादी एक संगठनले युक्रेनमा प्रिमियर लिग खेल्ने सबै टिमका लागि एउटा टिसर्ट अनिवार्य गरेको थियो। जसमा युद्धमा लागेका दिग्गजहरुको नाराहरु लेखिएका थिए। जुन टिसर्ट खेल सुरु हुनु ठिक अघिसम्म खेलाडीहरु लगाउनुपर्ने थियो। लिगमा रहेका १८ मध्ये १७ टिमले त्यस्तो टिसर्ट लगाएका थिए। नलगाउने एक टिम थियो- शेख्तर डोनेस्क।
युद्धमा लागेकाहरुको एक संगठनले खेलमा त्यसरी हस्तक्षेप गर्ने वातावरण बन्नुमा युक्रेन फुटबल संघलाई दोष लगाइएको थियो। जतिबेला ‘सामान्य युक्रेनी देशभक्तको रगत पिएको’ जस्तो काम गरेको भन्ने आरोप लगाइएको थियो। त्यसअघि २०१४ मा कार्पाती लिभिवसँगको खेलमा पनि ‘युक्रेनी सेनाको विजय’ लेखिएको टिसर्ट लगाउन भनिएको थियो। जसलाई शेख्तर डोनेस्कले अस्वीकार गरेको थियो।
डनबासमै हुर्किएका शेख्तरका पूर्व डिफेन्डर यारोस्लाभ राकितस्किभले युक्रेन राष्ट्रिय टिमको खेलका बेला राष्ट्रिय गान नगाएको भन्दै सञ्चार माध्यममा बारम्बार प्रश्नको सामना गर्नुपरेको थियो। गएको जनवरीमा रसियाको लिग विजेता जेन्ट सेन्ट पिटर्सबर्गमा खेल्नका लागि उनले शेख्तर छाडेका छन्। तर पनि डनबास रंगशालाको बाहिर राखिएको उनको ठूलो तस्बिर अझै देखिन्छ।
पहिले सोभियत युनियनको समयमा कम्युनिस्ट पार्टीका नेताहरु राम्रा खेलाडीलाई बल गरेरै पनि डाइनामो किभमा नै पठाउने गर्थे। ‘यदि तपाइँले पार्टीको उर्दी मान्नुभएन भने तपाइँ बाहिर फालिनुहुन्थ्यो’ शेख्तरका पूर्व कप्तान भिक्टर जुभ्यागिनस्तेभ भन्छन्, ‘अनि जब तपाइँ एकपटक पार्टी लाइनबाट बाहिर पर्नुहुन्छ तब फर्किने आश गर्नु बेकार हो, तपाइँले आफ्नो घर गुमाउनुहुन्छ, तपाइँका बालबच्चा विद्यालयबाट निकालिन्छन्।’
३० वर्षका राकितस्किभ पिटर्सबर्ग गएपछि गद्दार भएको आरोपहरु लागिरहेका छन्। जेन्ट सेन्ट पिटर्सबर्ग रसिया सरकारको स्वामित्वमा रहेको ठूलो प्राकृतिक ग्याससम्बन्धित कम्पनी ग्याजप्रोमको स्पोन्सरमा चलिरहेको छ। ग्याजप्रोमले नै युक्रेनमा ग्यास पठाउन बन्द गरेका कारण पनि राकितस्किभको पिटर्सबर्ग यात्रालाई धेरैले सही रुपमा हेर्न सकेका छैनन्।
पिटर्सबर्ग गएपछि राकितस्किभको छबीमा ठूलो असर परेको छ। किभको समाचार संस्था ट्रिब्युनमा गरिएको एक सर्वेक्षणअनुसार ५७ प्रतिशत समर्थकले उनलाई युक्रेनको राष्ट्रिय टिमबाट अब कहिल्यै खेलाउन नहुने विचार राखेका थिए। त्यसपछि उनलाई टिममा राखिएको पनि छैन।
शेख्तर डोनेस्क डनबास रंगशालामा २००९ मा सरेको थियो। जहाँ क्लबको नयाँ भविष्यको आश गरिएको थियो। तर पछिल्लो समय व्यावसायिक खेलाडीहरु डोनेस्क वरपर देखिँदैनन्। कहिँलेकाहिँ हुने भेट्रान फुटबलमा पहिलेजस्तो दर्शक कहाँ पाउनु। १० टिम सहभागी हुने च्याम्पियनसिपका खेलहरु पनि केही महिना देखिन्छ। जहाँ गाभारदित्स क्लबले डोनेस्क ओलम्पिक रंगशालामा घरेलु मैदानका खेलहरु खेल्छ।
२५ हजार दर्शक क्षमताको डोनेस्क ओलम्पिक रंगशालामा शेख्तरले २००८ मा बार्सिलोना, एसी मिलान र रोमासँग च्याम्पियन्स लिगमा खेलेको थियो। अहिले भने यहाँ खेल हुँदा केही सयको संख्यामा दर्शकको उपस्थिति देखिन्छ।
अहिले शेख्तर डोनेस्कले खारकिभको मेटालिस्ट रंगशालाई घरेलु मैदान बनाएको छ। केही समय पहिले उनीहरु पश्चिमी सहर लिभमा समेत घरेलु मैदान बनाएर खेलिरहेका थिए। जहाँ युक्रेनी राष्ट्रवादका ठूला नमुनाहरु देखिन्छ। त्यसैले शेख्तरले त्यहाँ फुटबलकै लागि पनि माया र सम्मान पाएन।
अहिले मेटालिस्ट रंगशालाका मालिक रहेका एन्टन इभानोभ शेख्तरले घरेलु मैदानको भावमा नै खेल्न सकोस् भन्नेमा आफूहरुले विचार गरिदिएको बताउँछन्। ‘उनीहरु पाहुना भए पनि हामीले घरमै रहेको अनुभव होस् भन्ने वातावरण बनाइदिएका छौँ’ उनले भने, ‘कसैले पनि शेख्तरलाई शरणार्थी टिम जस्तो व्यवहार गर्दैनन्, युद्धले हामी सबैको जीवनमा एक्कासी प्रभाव पारेको हो, तर हामी अझै एक राष्ट्र हौँ। झण्डै दुई लाख मानिस डनबासबाट अहिले खारकिभमा आएर बसिरहेका छन्। शेख्तरले हाम्रो भूमिमा च्याम्पियन्स लिग ल्याएकोमा हामी खुसी छौँ।’
इतिहासदेखि हेर्ने हो भने धेरै नै बलियो मानिएको डाइनामो किभ जस्तो क्लबको छाया हटाएर उदाइरहेको टिम हो- शेख्तर डोनेस्क। अहिले युक्रेनमा फुटबलमाथिको राज नै शेख्तर डोनेस्कको पोल्टामा छ। शेख्तर पछिल्लो ३० वर्षमा नाटकीय रुपमा प्रगति गरेको क्लब हो।
पहिले सोभियत युनियनको समयमा कम्युनिस्ट पार्टीका नेताहरु राम्रा खेलाडीलाई बल गरेरै पनि डाइनामो किभमा नै पठाउने गर्थे। ‘यदि तपाइँले पार्टीको उर्दी मान्नुभएन भने तपाइँ बाहिर फालिनुहुन्थ्यो’ शेख्तरका पूर्व कप्तान भिक्टर जुभ्यागिनस्तेभ भन्छन्, ‘अनि जब तपाइँ एकपटक पार्टी लाइनबाट बाहिर पर्नुहुन्छ तब फर्किने आश गर्नु बेकार हो, तपाइँले आफ्नो घर गुमाउनुहुन्छ, तपाइँका बालबच्चा विद्यालयबाट निकालिन्छन्।’
विदेशी खेलाडी ल्याएर बढिरहेको प्रभावसँगै २००४ पछि त डायनामो किभ र शेख्तर डोनेस्कबीचको फुटबल प्रतिस्पर्धाले पनि युक्रेनमा ठूलो हलचल मच्चाएको हो। युक्रेनको पूर्वमा बसोबास गर्ने ठूलो संख्यामा रहेका रसियन भाषा बोल्नेहरु बाँकी मानिसका बीच देखिएको भिन्नताको बीचमा फुटबल देखा पर्न थालेको थियो।
समय र अवस्था अहिले धेरै फेरिएको छ। सन् २००२ पछि शेख्तरले १२ पटक लिगको उपाधि जितिसकेको छ। प्रायजसो हरेक च्याम्पियन्स लिगमा शेख्तर देखिइरहेको पनि छ। यो उपलब्धिको पछाडि क्लबका अरबपति मालिक अख्मेतोभको ठूलो प्रभाव छ। जसले १९९५ मा क्लबका तत्कालिन अध्यक्ष रंगशालामै भएको बम आक्रमणमा परि निधन भएपछि क्लब सम्हालेका थिए।
सन् २००२ मा शेख्तरले पहिलोपटक विदेशी प्रशिक्षकलाई क्लबमा ल्याएको थियो। इन्टर मिलानका पूर्वखेलाडी नेभियो स्काला प्रशिक्षक बनेर आएपछिको त्यही समयसँगै शेख्तरको फुटबलले ठूलो फड्को मारेको हो। स्काला प्रशिक्षक बनेर आएको पहिलो वर्ष नै लिगको उपाधि शेख्तरले जितेको थियो।
सन् २००४ मा रोमानियका प्रशिक्षक मिरेका लुसेकु प्रशिक्षकका रुपमा ल्याएपछि शेख्तर डोनेस्कको फुटबलमा अर्को ‘टर्निङ प्वाइन्ट’ देखिएको हो। लुसेकुले नै ब्राजिलका युवा खेलाडीहरुलाई क्लबमा ल्याएर उनीहरु राम्रो खेलाडी बनेपछि बेच्ने गर्दै क्लबको छबि सुधारिरहेका थिए।
युक्रेनमा युवा खेलाडीको विकासमा हुनुपर्ने जस्तो काम नभइरहँदा शेख्तर डोनेस्कले नै दक्षिण अमेरिकामा आफ्ना एजेन्टहरु बनाएर खेलाडी छनोटमा ठूलो काम गरिरहेको थियो। डुकलस कोस्टा जस्ता खेलाडीलाई बायर्न म्युनिखमा युक्रेनकै कीर्तिमानी ३० मिलियन डलरमा बेच्न सक्नेसम्म बन्नु त्यसैको उदाहरण थियो। शेख्तर ब्राजिलियन खेलाडीका लागि युरोपियन क्लब प्रवेशको बलियो बाटो बनिरहेको थियो। जसमा चेल्सीका विलियन र म्यानचेस्टर सिटीका फर्नान्डिनोसमेत पर्छन्।
विदेशी खेलाडी ल्याएर बढिरहेको प्रभावसँगै २००४ पछि त डायनामो किभ र शेख्तर डोनेस्कबीचको फुटबल प्रतिस्पर्धाले पनि युक्रेनमा ठूलो हलचल मच्चाएको हो। युक्रेनको पूर्वमा बसोबास गर्ने ठूलो संख्यामा रहेका रसियन भाषा बोल्नेहरु बाँकी मानिसका बीच देखिएको भिन्नताको बीचमा फुटबल देखा पर्न थालेको थियो।
डोनेस्क क्षेत्रका पूर्व गर्भनर यानुकोभिच रसियन बोल्ने पूर्वी क्षेत्रका बासिन्दा र दक्षिणी क्षेत्रका बासिन्दासँग नै नजिक रहे। त्यसैको प्रभावले उनले २००४ मा राष्ट्रपतिको चुनावसमेत जिते। त्यसैले पछि धेरैले आफूहरुलाई विश्वासघात भएको अनुभवसमेत गरे। किभमा ‘ओरेन्ज रिभोलुसन’ को नामबाट बुझिने ठूलो आन्दोलनपछि चुनाव धोकाबाट भएको भन्दै उनलाई हटाइएको थियो।
२००९ मा शेख्तरले युइएफए कपको उपाधि जितेपछि उनै यानुकोभिचको सम्बोधन असाध्यै बिम्बात्मक थियो। जसको कसैले आश गरेका थिएनन्। त्यहीँबाट आफ्नो राजनीतिक छवि सुधार गरेर उनी पुनः शक्तिमा उदाए। त्यसबेला उनले भनेका थिए- ‘शेख्तर युक्रेनको प्रतीक बनेको छ, मलाई विश्वास छ यो जितले युक्रेनलाई एक बनाएर अघि बढ्न बाटो बनाउनेछ।’
त्यसैको प्रभाव बढेर २०१० मा यानुकोभिच पुनः राष्ट्रपतिमा निर्वाचित भए। यसपटक अझ बैध रुपमा। तर, यसपटक पनि उनलाई लामो समय शक्तिमा देख्न भने मानिसहरुले रुचाएनन्। २०१३ को नोभेम्बरमा युरोपियन युनियनसँगको साझेदारी सम्झौता परित्याग गर्ने घोषणापछि ठूलो आन्दोलन चर्किएको थियो।
यसैले शेख्तर डोनेस्क अहिले युक्रेनका लागि भिन्न प्रतीक बनेको छ- एकताबाट पर रहेको एउटा देश।
र, बढीहरको छ- युक्रेनी फुटबलमा विवाद र नकारात्मकता। जसबाट राजनीतिक अवस्थाले सुन्दर खेललाई बिगारिरहेको छ। च्याम्पियन्स लिगको एउटा क्लबलाई आफ्नै मैदानबाट भाग्नुपर्ने बनाएको छ।
(यो सामग्री बिबिसीमा रोबर्ट ओकोनर र फुटबल टाइम्समा ज्याक सगेटको लेखमा आधारित रहेर नेपाल लाइभका ऋग्वेद शर्माले तयार पारेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।