काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी चैत मसान्तभित्र ७ सय ५३ स्थानीय तहमा संगठन निर्माण र विस्तार गर्ने भएको छ।
पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सोमबार बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले नयाँ संरचना अनुसार प्रदेशगत रुपमा संगठन स्थापना, सदस्यता वितरण र सांगठनिक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।
मुलुकमा दोहोरो अंकमा आर्थिक वृद्धि हासिल गर्न युवालाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने नीति पारित गर्दै पार्टीले एक वडा एक उत्पादनको नीति लागू गरी कृषकलाई उत्पादित कृषि वस्तुको बजारीकरण, शीत भण्डारण र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पूर्ण उदारीकरण अर्थव्यवस्था कायम गर्नका लागि प्रगतिशील कर बढाउने, प्रत्यक्ष कर वृद्धि गर्ने र अप्रत्यक्ष कर घटाउने लगायत २९ बुँदे प्रस्ताव पनि पारित गरिएको छ।
सीमान्तकृत र पिछडिएका वर्गलाई उद्यम सञ्चालन गर्न प्राविधिक सल्लाहसहित पाँच वर्षसम्म निर्ब्याजी ऋण उपलब्ध गराउन आग्रह गर्दै पार्टीले खासगरी ग्रामीण भेगमा दलित वर्गमाथि हुँदै आएको सामाजिक विभेद तथा छुवाछूत अन्त्य गर्न माग गरेको छ। पिछडिएका, सीमान्तकृत तथा दलित वर्गका लागि स्नातक तहसम्म निःशुल्क अध्यापन गराउनका लागि पार्टीले अभियान सञ्चालन गर्ने जनाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।