राजविराज– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीय संरचनामा पनि विभेद गरिएको बताएका छन्।
सोमबार रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा बोल्दै यादवले हालको संघीय संरचनामा प्रदेश नम्बर २ अन्य प्रदेशको तुलनामा पछाडि रहेको टिप्पणी गरे।
‘संघीयतामा संरचनागत विभेद छ’, सप्तरी २ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले भने, ‘प्रदेश २ मा जति चरम गरिबी, बेरोजगारी र अभाव अन्य कुनै प्रदेशमा छैन।’
अभावभित्र पनि सम्भावनाको पहिचान गर्दै विकास र समृद्धितर्फ अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ थियो।
जातीय विद्वेष र घृणाले मधेसको विकास नहुने भन्दै यादवले जातीय सहिष्णुता र सद्भाव कायम गर्न सबैको सोच परिवर्तन हुनुपर्ने बताए।
मधेसमा महिलाहरु अझै पनि आर्थिक, सामाजिक र पहुँचमा पछि परेको भन्दै उनले थपे, ‘मधेसका महिलाहरु अझै पनि घूंघट र चौखटबाट बाहिर निस्कन सकेका छैनन्। उनीहरुलाई सहयात्री नबनाएसम्म विकासको सोच नराखे पनि हुन्छ ।’
देशको युवा शक्ति विदेश पलायन हुने र अर्कातिर बाँकी रहेका जति कुलतमा फसेकोप्रति उनले चिन्ता व्यक्त गरे।
‘गाउँ-समाजका युवाहरु रक्सीको कुलतमा फसेर समाज नै बर्बाद भइरहेको छ, रक्सी सेवनले गर्दा उनीहरु मानसिक र शारीरिक रुपमा विकृत बन्दै गएका छन्’, यादवले भने, ‘युवाहरु नैतिकवान् र आदर्शवान् नभएसम्म समाजको विकास असम्भव छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।