काठमाडौं– २३ वर्षपछि नेपाल आउन लागेका बलिउड स्टार सलमान खानका लागि आयोजक ओडिसी इन्टरटेनमेन्टले १२ करोड रुपैयाँको बजेट छुट्याएको छ।
सलमान होलीको अर्को साता नेपाल आउँदै छन्। सन् १९९४ मा पहिलो पल्ट नेपाल आएका सलमान दुई दशकको अन्तरालपछि आउन लागेका हुन्।
‘दबंग द टुर’ नाम दिइएको यो कार्यक्रमका लागि सलमान फागुन २५ मा नेपाल आउँदै छन्। उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जावी भांगडा डान्सर ‘मिड बोस’ पनि हुनेछन्।
सलमानको सांगीतिक कार्यक्रम फागुन २६ मा टुँडिखेलमा हुनेछ। आयोजक ओडिसीले कार्यक्रममा सलमानका ५० हजार प्रशंसक जम्मा हुने विश्वास व्यक्त गरेको छ।
ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले नेपाल लाइभसँग भने, ‘सलमानको शो नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो हुनेछ। कार्यक्रमका लागि हामीले १२ करोड रुपैयाँ बजेट छुट्याएका छौं।’
सलमानसहितको समूहले करिब ३ घन्टा टुँडिखेलमा आफ्नो प्रस्तुति दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।