काठमाडौं- सर्वोच्च अदालतले बानेश्वरस्थित एभरेस्ट होटलको सेयर विवादमा मस्कुर अहमद लारी र नज्मा अहमद लारीको पक्षमा फैसला सुनाएको छ।
२०५० सालदेखि सुरु भएको विवाद सम्बन्धी कीर्ते मुद्दामा आइतबार प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले फैसला सुनाउँदै सेयर खरिदमा यसअघि पुनरावेदन अदालत पाटनले गरेको फैसला नै सदर गर्ने निर्णय सुनाएको हो।
होटलको सेयर होल्डर मध्येका मस्कुर अन्तर्राष्ट्रिय लागूऔषध तस्कर हुन्।
१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेसको मुद्दामा उनी हालसम्म फरार छन्। प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन: सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो। होटल भने २०७२ बैशाखको भूकम्पपछि बन्द छ।
के थियो विवाद?
एभरेस्ट भारतीय लगानीको ‘फाइभ स्टार’ होटल हो। २०३७ सालमा उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएको होटलमा भारतीय नागरिक लारी परिवारको स्वामित्व थियो।
होटलका मूल लगानीकर्ता भारतीय नागरिक मकबुल अहमद लारी हुन्। मकबुलका छोरा मुजब्फर अहमद लारी, भतिजा मस्कुर अहमद लारी, भतिजकी श्रीमती नज्मा मस्कुर अहमद लारीबीच २५ वर्षदेखि सेयर विवाद थियो।
मूल लगानीकर्ता मकबुलको निधनपछि होटलको मुख्य सेयर हिस्सा मस्कुर र नज्माको नाममा थियो। मकबुलका छोरा मुजब्फर अहमद लारीले बाबुको नाममा रहेको सेयर कीर्ते गर्दे मस्कुर र नज्माले आफ्नो नाममा सारेको दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेपछि एभरेस्ट होटलको विवाद सतहमा आएको थियो।
२०६१ जेठ ४ गते होटलका मूली मकबुलको भारतमा निधन भएपछि उनका छोरा मुजब्फर नेपाल आएर बुबाको नामको सेयर आफ्नोमा सार्न खोजेपछि यो मुद्दाको सुरुवात भएको हो। बाबुको नाममा रहेको सेयर मस्कुर र उनकी श्रीमती नज्माको नाममा नामसारी नै नभएको पाएपछि उनले बाबुको सेयरमा आफ्नो हिस्सा लाग्ने बताएका थिए। कुनै हिस्साबिनै नामसारी भएकाले कीर्ते जालसाजी भएको दाबीसहित जिल्ला अदालतमा मुद्दा हाले।
मस्कुर र नज्माले २०५२ सालमै काका मकबुलबाट सेयर खरिद गरिसकेको प्रमाण बनाएका थिए। नाताले ठूलोबुवा र भतिजो पर्ने उनीहरुले जीवित हुँदै सेयर खरिदबिक्री भएको दाबी मस्कुर र नज्मा पक्षको थियो। उनीहरुले छोरा मुजब्फरलाई पनि ‘मेजोरिटी’ आफूसँग भएको जवाफ दिएका थिए। तर, उनी त्यसमा सन्तुष्ट नहुँदै कीर्ते गरेर सेयर हडपेको आरोपसहित काठमाडौं जिल्ला अदालत पुगेका थिए। जिल्लाले छोरा मुजब्फरको विपक्षमा फैसला सुनाएको थियो।
त्यस विरुद्ध उनी तत्कालीन पुनरावेदन अदालत पाटन पुगे। पाटनले पनि सेयर कीर्ते नभई खरिद नै भएको ठहर गर्दै जिल्लाको फैसलालाई सदर गर्ने निर्णय सुनायो। त्यहाँबाट पनि मुद्दा हारेपछि उनको सामुन्ने अदालतको निर्णय स्विकार्नुबाहेक विकल्प थिएन। तर, कीर्ते गरेर बुबाको सेयर नामसारी गरेको दाबी गर्दै मुजब्फर २०६९ साउन २६ मा सर्वोच्च अदालत पुगेका थिए।
दुई तहमा एकै फैसला भएपछि किनारा लागेको मुद्दा पुन: पुनरावलोकन नहुने नजिर भए पनि तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्माको पहलमा दर्ता भएको थियो। उक्त मुद्दाको सुनुवाइ गोपाल पराजुली र जगदीश शर्मा पौडलको इजलासले २०७१ चैत २६ गते आदेश गरेको थियो। दुई तह पराजित भएपछि किनारा लाग्नुपर्ने मुद्दा तत्कालीन प्रधानन्यायाधीश शर्माले आर्थिक प्रभावमा पुनः ब्युँताएका थिए। पुनरावेदन गर्न नमिल्ने मुद्दामा निस्सा हुने आदेश भएको भन्दै न्याय परिषद्ले उक्त फाइल मगाउँदै अध्ययन थाल्यो तर परिषद्को अध्यक्ष शर्मा आफै भएकाले उक्त प्रकरण बीचमै बन्द हुन पुग्यो।
सर्वोच्चमा मुद्दा विचाराधीन हुँदै बैशाखमा भूकम्प गयो। यही कारण देखाउँदै उनीहरुले होटल बन्द गरे। त्यसको भित्री कारण भने सेयर विवाद नै थियो।
पाँच वर्षदेखि सर्वोच्चमा मुद्दा विचाराधीन भइरहेकाले नज्मा र मस्कुर होटल बन्द गर्ने बहाना खोजिरहेका थिए, भूकम्पले सहज बनाइदियो।
तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र चोलेन्द्र शम्शेर जबराले निस्सा दिएपछि सर्वोच्चमा मुद्दा ब्युँतिएको थियो।
मुजब्फरले कीर्ते गरेर नज्मा र मस्कुरले आफ्नो बुबा मकबुलको सेयर हडपेको दाबी सर्वोच्चमा पेश गरे पनि सर्वोच्चले मान्यता दिन अस्वीकार गरेको छ। सर्वोच्चले मस्कुर र नज्मा पक्षले नामसारी गरेको कागजपत्रलाई कीर्ते नभई कानुनसम्मत भएको जिल्ला र पुनरावेदनको फैसला सदर गर्ने निर्णय गरेको हो।
कम्पनीको कूल सेयर संख्या ८४ लाख ५९ हजार कित्ता हो। यसमध्ये ७० दशमलब १५ प्रतिशत अर्थात् ५९ लाख ३४ हजार १०० कित्ता बुवा मकबुलको नाममा थियो। नज्मासँग २४ दशमलव ३१ प्रतिशत अर्थात् २० लाख ५७ हजार १०० कित्ता थियो।
मकबुलले २०५२ सालमै आफ्नो हिस्साको २८ प्रतिशत भतिज मस्कुर र उनकी श्रीमती नज्मालाई बेचेको कागजपत्र उनीहरुले सर्वोच्चमा समेत प्रस्तुत गरेका थिए। मकबुलले ११ लाख ९९ हजार कित्ता सेयर मस्कुर र ४ लाख ६४ हजार कित्ता नज्मालाई बेचेका थिए।
यसबापत ५९ लाख रुपैयाँ तत्कालीन इन्डोसेज बैंक (अहिलेको नेपाल इन्भेस्टमेन्ट बैंक) मार्फत भुक्तानी गरेको कागजपत्र पनि उनीहरुले सर्वोच्चमा पेश गरेका थिए।
मस्कुर लागूऔषध मुद्दाका अन्तर्राष्ट्रिय अभियुक्त
सर्वोच्चको फैसलापछि होटलका आधिकारिक सेयरमालिक मध्येका एक मस्कुर अहमल लारी लागूऔषध मुद्दामा पुराना फरारी हुन्।
मस्कुर ठमेलबाट नेदरल्यान्ड पठाएको लागूऔषधमा जिल्ला र पुनरावेदनवाट दोषी ठहर भएका अभियुक्त हुन्। मस्कुरले ठमेलबाट पठाएको सामान जर्मनीको फ्रयांकफर्टमा समातिएको थियो। मस्कुरले पठाएको ‘लगेज’ मा लागूऔषध भेटिएको थियो।
फ्रयांकफर्ट प्रहरीले विस्तृत अनुसन्धान गर्दा उक्त लगेज मस्कुरले नै पठाएको खुलेको थियो। अनुसन्धानले सामान मस्कुरकै रहेको पुष्टि गरेपछि फ्रयांकफर्ट प्रहरीले नेपालमा पत्र लेखेर मस्कुरको संलग्नतासहित उनलाई पक्राउ गर्न आग्रह गरेको थियो।
लागूऔषध समातिएपछि मस्कुर फरार भएका थिए। नेपालमै रहेका उनी तत्कालीन समयमा उनी मिलेमतोमै फरार भएका थिए। लागूऔषध मुद्दाको मुख्य अभियुक्त फरार रहेको भन्दै तामेलीमा राखिएको छ।
सर्वोच्चले मुद्दा तामेली राखे पनि जिल्ला अदालतको वारेन्ट भने कायमै रहेको छ।
त्यसैले उनी प्रहरीको सूचीमा ‘मोस्ट वान्टेड’ छन्। २०६८ सालदेखि मस्कुर फरार भएपछि नज्मा एक्लैले होटल सञ्चालन गरिरहेकी थिइन्। उनले पहुँचको भरमा लागूऔषध मुद्दामा १९ वर्षदेखि उन्मुक्ति पाउँदै आएका छन्। २०५५ सालको मुद्दामा उनी हालसम्म फरारै रहेको भनिए पनि प्रहरीले समेत खोजी गर्ने चासो नदेखाएपछि उनी फरार छन्।
१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेसको मुद्दामा उनी तानिएपछि २०६८ मा काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको थियो।
२०६८ माघ २२ मा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता विदुर कार्कीले कारबाही अगाडि बढाउन निवेदन दिएपछि मुद्दा ब्युँतिएको थियो। तर सर्वोच्च पुगेपछि तामेलीमा राखेको मुद्दा हालसम्म पुन: ब्युँतिन सकेको छैन।
२०६८ माघ २७ मा अदालतले लारीको नाममा ७० दिनको म्याद जारी गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंको नाममा एक साताभित्र पक्राउ गरी अदालतमा बुझाउन वारेन्ट पठाएको थियो। वारेन्ट पठाएको ६ वर्ष लागिसक्यो। उनी काठमाडौंमै छन्, प्रहरीबाट उन्मुक्ति पाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।